४ जेष्ठ २०८१, शुक्रबार

कोशीको आन्दोलनमा मृत्यु भएका पदम लिम्बूलाई सहिद घोषणा गर्ने


लाजेहाङ सुक्वाबा लिम्बू

काठमाडौं । सरकारले कोसी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदमबहादुर लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

आज शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले लिम्बूलाई सहिद घोषणा गर्ने सरकारको निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनले आन्दोलनका क्रममा निधन भएका लिम्बूलाई सहिद घोषणा गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको बताइन् । मन्त्रिपरिषद्ले मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

पहिचानवादी दल र संस्थाहरुले गठन गरेको प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले लिम्बुलाई शहीद घोषणा गर्न माग गरेको थियो । कोसी नामकरण सन्दर्भमा कोसी प्रदेशमा आन्दोलनको क्रममा लिम्बूूको निधन भएपछि आन्दोलनकारीसँगको छलफलबाट छानबिन समिति बनेको थियो ।

कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका बेला यही चैत ५ गते विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रहरीको लाठी लागेर घाइते भएका ४२ वर्षीय लिम्बुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यस्तै नामकरणसम्बन्धी आन्दोलनलाई प्रदेशसँग वार्ता गरेर अघि बढ्न सरकारले सहजीकरण पनि गर्ने कुरा भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !