काठमाडौं । सत्ता गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा मन्त्रालयको भागबण्डाको विषयमा आज पनि सहमति जुट्न नसकेर बैठक निष्कर्षविहीन टुंगिएको हो ।
मन्त्रालयको भागबण्डाको विषयमा कुनै सहमति जुट्न नसकेपछि भोलि फेरि बस्नेगरी बैठक सकिएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन दलका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।
यसअघि आज बिहान बसेको गठबन्धनको बैठक पनि सहमति जुटाउन बसेको बैठक निष्कर्षविहीन टुंगिएको थियो । प्रधानमन्त्री प्रचण्डले गठबन्धनमा सहमति गरेर आजै केही मन्त्रीको टुंगो लगाउने तयारी गरेतापनि सहमति जुट्न नसकेर बैठक बिनानिष्कर्ष टुंगिएको हो ।
गठबन्धनमा भागबण्डा नमिल्दा मन्त्रिपरिषद्को विस्तार दुई चरणमा हुने देखिएको छ । गठबन्धनका दलहरुले आफ्नो अडान नछोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार दुई चरणमा गर्ने तयारी गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेल सेतो मच्छिन्द्रनाथको रथयात्रा अवलोकनमा जाने भएपछि भोलि बिहीबार मात्रै नयाँ मन्त्रीहरुले शपथ लिने भएका छन् । यद्यपि गठबन्धनका शीर्ष नेताहरुबीच आज मन्त्रालयको भागवण्डामा सैद्धान्तिक सहमति भने भएको बुझिएको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतका नेताहरु सहभागी भएका थिए ।