२१ बैशाख २०८१, शुक्रबार

नेकपा एसबाट भुसाल पहिलो र ज्वाला दोस्रो चरणमा मन्त्री बन्ने


बेदुराम भुसाल र प्रकाश ज्वाला

काठमाडौँ । सत्ता गठबन्धनको दल नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्ने भएका छन् ।

एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आज बुधबार दिउँसो बसेको सचिवालयको आकस्मिक बैठकले भुसाल र ज्वालालाई मन्त्रीका रुपमा सरकारमा पठाउने निर्णय गरेको हो ।

गठबन्धनमा भागबण्डा नमिल्दा मन्त्रिपरिषद्को विस्तार दुई चरणमा हुने देखिएको छ । गठबन्धनका दलहरुले आफ्नो अडान नछोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार दुई चरणमा गर्ने तयारी गरेका हुन् ।

एकीकृत समाजवादीले पहिलो चरणमा डा. बेदुराम भुसाललाई सरकारमा पठाउने तयारी गरेको छ भने दोस्रो चरणमा प्रकाश ज्वालालाई सरकारमा पठाउने छ । एकीकृत समाजवादीले भुसाललाई शिक्षा, कृषि वा श्रम मन्त्रालयमध्ये एकमा पठाउने तयारी गरेको छ भने ज्वालाले भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री पाउने लगभग निश्चितजस्तै भएको छ ।

आफ्नो पार्टीबाट दुई जनालाई मन्त्री बनाउने निर्णय गराएर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गठबन्धनको बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन् । एकीकृत समाजवादीले तीन मन्त्रालयमा दाबी गर्दै आएतापनि प्रधानमन्त्री प्रचण्डले आफ्नो बाध्यता बुझिदिन आग्रह गरेपछि अध्यक्ष नेपाल दुई मन्त्रालय लिएर भएपनि सरकारमा सहभागी हुन तयार भएका हुन् ।

बालुवाटारमा अहिले सत्ता गठबन्धनको बैठक जारी रहेको छ । गठबन्धनको बैठकलगत्तै आजै पहिलो चरणको मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ । सत्ता गठबन्धन आबद्ध दलहरु सहमतिमा पुग्न नसक्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ ।

सरकारलाई समर्थन गर्ने गठबन्धन दलको तर्फबाट आजै केही मन्त्रीहरुको चयन गरेर शपथ गराउने तयारी गरिएको छ । बालुवाटार स्रोतका अनुसार प्रत्येक दलबाट कम्तीमा एक/एक जनालाई मन्त्री बनाउने तयारी गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !