१४ बैशाख २०८१, शुक्रबार

मन्त्रालयको भागबण्डामा जुटेन सहमति, गठबन्धनको बैठक निष्कर्षविहीन


सत्ता गठबन्धनको बैठक फाइल फोटो

काठमाडौँ । सत्ता गठबन्धनको बैठकमा मन्त्रालयको भागबण्डामा आज सहमति जुट्न सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा मन्त्रालयको भागबण्डाको विषयमा सहमति जुट्न नसकेर बैठक निष्कर्षविहीन टुंगिएको हो ।

आजको बैठकमा सहमति जुट्न नसकेपछि बैठक भोलि बुधबार बिहान ९ बजे पुनः बस्ने भएको हो । मन्त्रिपरिषद् बिस्तारलगायतका विषयमा सहमति जुटाउन आज सत्ता साझेदार दलहरुको बैठक बसेको थियो ।

बैठकमा मन्त्रिपरिषद् बिस्तारमा सहमति जुटाउने भनिएको थियो । सत्तागठबन्धन आबद्ध दलहरु सहमतिमा पुग्न नसक्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ । मन्त्रिपरिषद् विस्तार आजसम्म गरिने भनिए पनि दलहरुबीच आज पनि सहमति हुन नसकेको हो ।

आजको बैठकमा सत्तासाझेदार दलका शीर्ष नेताहरु सहभागी छन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए ।

साथै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, आमजनता पार्टीका अध्यक्ष प्रभु साह लगायतका नेता सहभागी थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !