२२ बैशाख २०८१, शनिबार

टंगाल पुगेर मिटरब्याज पीडितको आन्दोलनप्रति रवि लामिछानेको ऐक्यबद्धता


रवि लामिछाने

काठमाडौँ । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिटरब्याज पीडितको मागमा समर्थन गर्दै आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।

लामिछानेले मिटरब्याज पीडितको समस्या समाधान गर्न आफूले पहल गर्ने बताएका छन् । आज बिहान मिटरब्याज पीडितसँग भेट गरी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै माग पूरा गर्न आफूले सहयोग गर्ने बताएका हुन् ।

लामिछानेले आफू सरकारमा हुँदा मिटरब्याजको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम सुरु गरेको र यसलाई समाधान गर्न कुनै ठूलो समस्या नरहेको समेत बताए । उनले आफ्नो पार्टी पीडितहरुको साथमा सदैव रहेको पनि बताए ।

लामिछानेले सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन् । मंगलवार विरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितहरुलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जानबाट प्रहरीले रोकेपछि उनीहरुले टंगालमै बसेर प्रदर्शन गरेका हुन् ।

लामिछाने प्रदर्शनस्थल टंगालमै पुगेर मिटरब्याजको समस्यालाई राजनीतिकरण गर्नु नहुने बताए । उनले मिटरब्याज पीडितहरुको मुद्दामा टेकेर आफ्नो पार्टीले राजनीतिको रोटी नसेक्ने भन्दै वास्तविक पीडितहरुको समस्या समाधान गर्ने बताए ।

यसअघि हिजो जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकार समक्ष आग्रह गरेका थिए । अध्यक्ष राउतले आज मिटरब्याज पीडितसँग भेट गरी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै माग पूरा गर्न सरकारसँग आग्रह गरेका थिए ।

यसैगरी काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले पनि मिटरब्याजी पीडितको मागप्रति ऐक्यबद्धता जनाएका छन् । शाहले उनीहरुको मागप्रति ऐक्यबद्धता जनाउँदै समस्या समाधानका लागि सरकारसँग माग गरेका छन् ।

मिटर ब्याज पीडित सहुलियत दरमा ऋणको व्यवस्था गर्नुपर्नेलगायत माग गर्दै आज काठमाडौँमा सडकमा प्रर्दशन गरेका छन् । सहुलियत दरमा ऋणको व्यवस्था गर्नुपर्ने, मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, मिटर ब्याज विरुद्ध कानुन निर्माण गर्नुपर्ने, तमसुक व्यवस्था खारेज गर्नुपर्ने, झुट्टा मुद्दामा गिरफ्दार गरिएका पीडितलाई रिहा गर्नुपर्ने लगायतका माग राखी आन्दोलन गर्दै आएका मिटरब्याजी पीडितके माग राख्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !