४ जेष्ठ २०८१, शुक्रबार

राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


राष्ट्रियसभाको बैठक

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संसद भवनमा राष्ट्रियसभाको बैठक आज अपराह्न १२ बजेर ३१ मिनेटमा बस्ने संसद् सचिवालयले जनाएको छ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमअनुसार आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने पहिलो कार्यसूची रहेको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने दोस्रो सम्भावित कार्यसूची रहेको छ ।

सम्भावित कार्यक्रमअनुसार आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति डा. बेदुराम भुसालले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०७८/०७९ सभा समक्ष पेस गर्ने तेस्रो कार्यसूची रहेको छ ।

यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदनको कार्यान्वयन अनुगमन मूल्यांकन प्रतिवेदन २०७९ सभासमक्ष पेस गर्ने चौथो कार्यसूची रहेको छ ।

त्यस्तै दलित समुदायका विभेद र उत्पीडनहरुको अन्त्य गरी सामाजिक सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धमा भुवनबहादुर सुनार प्रश्तावक र सुरेशकुमार आले मगर, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, नरपति लवार, सिंहबहादुर विश्वकर्मा, जगतबहादुर पार्की, राधेश्याम पासवान, जगप्रसाद शर्मा, प्रमिलाकुमारी, प्रकाश पन्थ, देवेन्द्र दाहाल, भगवती न्यौपाने, जयन्तीदेवी राई, तारामान स्वाँर, विमला घिमिरे, मायाप्रसाद शर्मा, गंगाकुमारी बेलवासे समर्थक भई दर्ता भएको संकल्प प्रस्तावका सम्बन्धमा छलफल हुने पाँचौं कार्यसूची रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !