२१ बैशाख २०८१, शुक्रबार

राष्ट्रपतिमा काँग्रेसका रामचन्द्र पौडेलले गराए उम्मेदवारी दर्ता


रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अब्दुल खान र राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसी लगायत शीर्ष नेताहरु पनि सँगै बानेश्वर पुगेका थिए ।

उनको प्रस्तावक र समर्थकमा ५/५ जना रहेका छन् । उनको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान रहेका छन् भने समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन् ।

८ दलका नेता प्रस्तावक र समर्थक राखेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । पौडेललाई आफ्नो पार्टी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको थियो ।

८ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवार कांग्रेसका वरिष्ठ नेता पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरी आफूलाई राष्ट्रपति सहयोग गर्न आग्रह गरेका थिए ।

कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बसेको संयुक्त बैठकले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

यो पनि पढ्नुहोस्

रविलाई भेटेर रामचन्द्रद्वारा राष्ट्रपतिमा सहयोगको आग्रह

रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने काँग्रेसको निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !