१२ मंसिर २०८१, बुधबार

प्रचण्ड बाहिरिएलगत्तै ओलीलाई भेट्न बालकोट पुगे चिनियाँ राजदूत


केपी शर्मा ओली र चेन सोङ

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहिरिएलगत्तै एमाले अध्यक्ष ओलीलाई भेट्न चिनियाँ राजदूत सोङ ओली निवास बालकोट पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको भेटवार्ता सकिएको केही समयपछि ओलीलाई भेट्न चिनियाँ राजदूत बालकोट पुग्नुलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ । उत्तरतिरको मित्रराष्ट्र चीन वर्तमान सत्ता गठबन्धनलाई जोगाउन चाहन्छ ।

अहिलेको वर्तमान सत्ता गठबन्धनमा नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले जस्ता कम्युनिष्ट पार्टीहरुको वर्चस्व रहेको छ । यसका साथै वर्तमान सत्ता गठबन्धन टिकेमा एमालेकै राष्ट्रपति हुनेमा चीनको विश्वास रहेको छ । आज साँझ चिनियाँ राजदूत बालकोट पुग्नुलाई पनि गठबन्धन जोगाउन सक्रिय रहेको भनेर बुझ्न कठिन छैन ।

केपी शर्मा ओली र चेन सोङ

बुधवारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहेका सांसद चित्रबहादुर केसीले शक्ति राष्ट्रहरु राष्ट्रपति कसलाई बनाउने भनेर मैदानमै उत्रिएको दावी गरेका थिए । केसीले भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपालमा गरेको उच्च राजनीतिक भेटघाटप्रति प्रश्न उठाएका थिए ।

केसीले शक्ति राष्ट्रहरु प्रत्यक्ष रुपमै राष्ट्रपति कसलाई बनाउन भनेर सक्रिय भएर लागिरहेको दाबी गरेका थिए । केसीले शक्ति राष्ट्रहरूले यसअघि राष्ट्रपतिको चुनावमा अप्रत्यक्ष रूपमा भूमिका खेले पनि यस पटक भने प्रत्यक्ष रूपमा नै भूमिका खेलेको आरोप लगाएका थिए ।

मंगलबार अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनको सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले प्रचण्डसँगको सत्ता सहकार्य टुंगिन लागेको संकेत गरेका थिए । अध्यक्ष ओलीले पाँच दलीय तत्कालीन गठबन्धन भत्काएर सात दलीय गठबन्धन बनाएर प्रचण्ड नेतृत्वको सरकार बनाउन सफल भएपनि वर्तमान सत्ता गठबन्धन फेरिने अवस्था रहेको संकेत गरेका थिए ।

ओलीले सत्तारुढ गठबन्धन भत्काउन र देशमा स्थिरता र स्थायित्व हुन नदिनका लागि अनेक प्रकारका षड्यन्त्र भइरहेका बताएका थिए । उनले आफूसँग बहुमतभन्दा धेरै कम मत रहेको भन्दै आउने परिस्थिति स्वीकार गर्नुपर्ने उल्लेख गरेका थिए । ओलीले मुलुकमा अहिले अस्थिरता ल्याउन विभिन्न शक्तिले चलखेल गरिरहेको भन्दै देश बर्बाद पार्न भित्र र बाहिरका शक्तिहरू क्रियाशील रहेको बताएका थिए ।

यस्तै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्य उपचारका हाल चीनमै छन् । उनी फागुन २ गते मंगलबार चीन प्रस्थान गरेका थिए । वंशाणुगत जण्डिसबाट पीडित पुन मंगलबार नियमित उपचारका लागि श्रीमती ओनसरी घर्तीसहित चीनमा गएका हुन् । उपचारको लागि चीन गएपनि वर्तमान सत्ता गठबन्धन जोगाउन चिनियाँ नेताहरुसंग छलफल हुनसक्ने अनुमान समेत गरिएको छ ।

राष्ट्रपति निर्वाचन र सत्ता समीकरणबारे सत्ता साझेदार दल एमाले र माओवादीबीच खटपट उत्पन्न भइरहेका बेला चिनियाँ राजदूत ओलीलाई भेट्न बालकोट पुगेका हुन् । आज शुक्रबार पनि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच २ घण्टाभन्दा बढी छलफल भएको छ ।

यद्यपि ओली निवास बालकोट बाहिरिने फर्कने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले आफूहरू एकै ठाउँमा रहेको र राष्ट्रपतिका बारेमा एक–दुई दिनभित्रै सहमति गर्ने कोसिस भइरहेको बताएका छन् । उनले भने , “गठबन्धन कायमै छ, हामी सहमतिमै छौँ, हामी मिलेरै अगाडि बढ्छौँ, सत्ता साझेदार सरकार चलिरहेको छ, गठबन्धन टुट्ने–भत्कने कुरै छैन । यसलाई अझ कसरी राम्रो बनाउने भनेर लागिरहेका छौँ ।”

यो पनि पढ्नुहोस्

बालकोटबाट फर्कने क्रममा प्रचण्डले भने – गठबन्धन टुट्ने–भत्कने कुरै छैन

एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

प्रचण्डसँगको सत्ता सहकार्य टुंगिन लागेको ओलीको संकेत

शक्ति राष्ट्रहरु राष्ट्रपति कसलाई बनाउने भनेर मैदानमै उत्रिए : चित्रबहादुर केसी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !