१८ बैशाख २०८१, मंगलबार

सुदूरपश्चिम मुख्यमन्त्री शाहले भेटे रेशम चौधरीको परिवारलाई


कमलबहादुर शाह

लम्की, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले टीकापुर घटनाको मुख्य अभियुक्तका रूपमा जेलजीवन बिताइरहेका नागरिक उन्मुिक्त पार्टीका संरक्षक रेशम चौधरीका परिवारलाई भेट गरेका छन् ।

हिजो शुक्रबार साँझ मुख्यमन्त्रीको पदभारग्रहण गरेको भोलिपल्ट कैलालीको जानकी–९ जगतपुरस्थित चौधरीको घरमै पुगेर परिवारका सदस्यालाई भेटघाट गरेको मुख्यमन्त्री शाहले रेशम लगायतकालाई जेलमुक्त गराउन आफू लागिपर्ने आश्वासन दिए ।

उनले उक्त घटनालाई राजनीतिक रुपमा नै समाधान खोजिनुपर्ने बताए । रेशम चौधरीकी ६८ वर्षीया आमा सुनफीदेवी चौधरीबाट आशिर्वाद लिँदै मुख्यमन्त्री शाहले भने, “म पनि तपाईँको छोरा हो । चिन्ता नलिनुहोला । रेशम जीलाई छुटाउने म अथक प्रयास गर्ने छु ।”

मुख्यमन्त्री शाहलाई आशिर्वाद दिँदै सुनफीदेवीले भने, “आफूले सानो छँदा खेलाएको स्मरण गर्दै आफ्नो छोरा रेशमलाई पनि जेलबाट छुटाएर यसरी नेता भएर आएको देख्न मन छ ।” मुुख्यमन्त्री शाहले रेशमलाई जेलमुक्त गराउन आफूले सक्दो पहल गर्ने रेशमका सहोदर भाइ प्रकास चौधरीलाई आश्वासन दिए ।

टीकापुरको घटनाले सामाजिक सद्भावमा ठेस् पुगेको उनको भनाइ थियो । मुख्यमन्त्री शाहले भने, “टीकापुर घटनाले यस क्षेत्रको हरेक कोणबाट बदनाम गर्ने काम भइरहेको छ । वर्षौदेखि मिलेर बसेको समाजमा फाटो ल्याउने काम भइरहेको छ । अब त्यो तपाईँ हामी सबैले बुझ्नुपर्छ । सबै सजग हुनुपर्छ ।”

मुख्यमन्त्री शाहले आजै नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष सङ्घीय सांसद रञ्जिता श्रेष्ठसँग भेटवार्तासमेत गरेका छन् । टीकापुरस्थित सिदार्थ होटलमा भएको घेटघाटमा वर्तमान राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको मुख्यमन्त्रीका सचिवालय प्रमुख रामबहादुर विष्टले बताए ।

शाहले मुख्यमन्त्री भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । जसका लागि २७ सांसदको समर्थन चाहिन्छ । यसअघि नेकपा (एमाले) नेतृत्वको सरकार नागरिक उन्मुक्तिले साथ नदिएपछि एक महिनामै ढलेको थियो । शाहले विश्वासको मत पाउने दाबी गरिरहेका छन् । उच्चस्तरीय भेटघाटको लागि मुख्यमन्त्री शाह आजै काठमाडौँ गएका छन् ।

मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति, नेकपा (माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी) र स्वतन्त्र एक जना सांसदको समर्थन पाउने विश्वास व्यक्त गर्दै आएका छन् । सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका उपसभामुखबाहेक नौ, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र स्वतन्त्र एकजना सांसद छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !