८ जेष्ठ २०८१, मंगलबार

संसद्मा कक्ष र ‘लबी रिपोर्टिङ’ व्यवस्थित गरिने


नियमावली मस्यौदा समिति

काठमाडौँ । सङ्घीय संसद्मा कक्ष र ‘लबी रिपोर्टिङ’ लाई व्यवस्थित गरिने भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको आजको बैठकमा संसद् र सांसदलाई जनताप्रति उत्तरदायी बनाउन कक्ष र ‘लबी रिपोर्टिङ’ लाई व्यवस्थित गरिने सहमति भएको हो ।

बैठकमा समिति सदस्य एवं पूर्वसभामुख सुवास नेम्वाङले कक्ष र ‘लबी रिपोर्टिङ’ को विश्वव्यापी अभ्यासलाई व्यवस्थित गर्नुपर्ने प्रस्ताव गरेका थिए ।
समिति सदस्य सांसद रमेश लेखकले फरार सांसद पनि निलम्बन हुने व्यवस्था नियमावलीमा गरी सुविधा नपाउने स्पष्ट व्यवस्था गरिनुपर्नेमा जोड दिए । सांसद प्रेम सुवालले प्रमुख प्रतिपक्षी दलसम्बन्धी स्पष्ट व्यवस्था नियमावलीमा गर्न माग गरे ।

बैठकमा समितिको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य चित्रबहादुर केसी, समिति सदस्य एवं पूर्वमन्त्रीद्वय दिलेन्द्रप्रसाद बडू र हितराज पाण्डे, समिति सदस्य विद्या भट्टराई, अमरेशकुमार सिंह, सोविता गौतम, नगिना यादवलगायतले फरार, थुनुवा र कैदीका विषयमा समय लम्ब्याएर भए पनि स्पष्ट व्यवस्था नियमावलीमा गरिनुपर्नेमा जोड दिएका थिए ।

बैठक शुक्रबार बिहान १०ः३० बजे पुनः बस्ने सभापति केसीले जानकारी दिएका थिए । समय थप गरेर भए पनि नियमावलीमा सबै कुरा स्पष्ट गरिनुपर्नेमा सबै सांसदको सहमति रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !