२० बैशाख २०८१, बिहिबार

नेपालमा विदेशीको इसारामा सरकार बन्ने र ढल्ने व्यवस्था रहेको छ : विप्लव


विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा विदेशीको इसारामा सरकार बन्ने र ढल्ने गरेको दाबी गरेका छन् ।

काठमाडौंमा आज बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव विप्लवले यसरी नेपालमा विदेशीको इसारामा सरकार बन्ने र ढल्ने पुरानो व्यवस्था फेर्नुपर्ने आवश्यकता रहेको स्पष्ट पारेका हुन् ।

विप्लव नेकपाले आगामी दिनमा राष्ट्रिय स्वाधीनता र जनताका राजनैतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा केन्द्रित रहेर सङ्घर्ष गर्ने निर्णय गरेको छ । चन्दले आफूहरू सबै विषयमा खुल्ला ढङ्गले छलफल गर्न तयार रहेको भन्दै नेपाल सबै विषयको निराशावादी गोल चक्करबाट मुक्त गर्नुपर्ने बताए ।

विप्लवले नेपालमै बसेर केही गर्छु भन्ने व्यवसायीहरू टाट पल्टिन थालिसकेको बताएका छन् । उनले वित्तिय संस्थाहरूले प्रवाह गरेको ऋणका कारण व्यवसायीहरू संकटमा पर्दै गएको बताएका हुन् । उनले वित्तिय संस्थाबाट लिएको ऋणका कारण किसानहरू उठिबास लाग्ने अवस्था आएको दावी गरे

राष्ट्रिय उद्योगीहरू समेत आर्थिक भारका कारण आन्दोलन गर्न बाध्य भएका छन् । उनले तराईमा मिटर ब्याजी र पहाडमा लघुवित्तको आतंकबाट सर्वसाधारण जनताहरू आतंकित भएको बताए । राज्यसमेत वित्तिय संस्थाहरूको आतंक रोक्न उदासिन भएको उनले आरोप लगाए ।

विप्लव नेतृत्वको नेकपाले वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्ने पार्टीसँग एकता र मुद्दा मिल्नेसँग संयुक्त मोर्चामार्फत कार्यगत एकता गर्ने नीति लिने भएको छ । साथै विप्लव नेकपाले नेता कार्यकर्ताको वैचारिकीकरण एवम् जन नेतृत्व निर्माणका लागि कम्युनिस्ट कलेज सञ्चालन गर्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !