२० बैशाख २०८१, बिहिबार

राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


राष्ट्रियसभा

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँवानेश्वरस्थित संघीय संसद भवनमा राष्ट्रियसभाको बैठक आज बिहान ११ः५९ बजे शुरु हुने भएको हो ।

आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सदस्य उर्मिला अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ । उक्त प्रस्तावमा देवेन्द्र दाहाल र खिमलाल देवकोटाले समर्थन गर्ने छन् ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले विधयान व्यवस्थापन समितिको प्रतिवेदनसहित अनुगमन मूल्यांकन विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

साथै नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अभिलेख संरक्षण (पहिलो संशोधन)विधेयक, २०७७ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, अभिलेख संरक्षण (पहिलो संशोधन)विधेयक, २०७७ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !