१४ बैशाख २०८१, शुक्रबार

रवि लामिछानेको पार्टी रास्वपा खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी


रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी फाइल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । आज बुधबार सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले निर्वाचन आयोगमा पुगेर रास्वपा पार्टी खारेज गर्न माग गर्दै निवेदन दिएका हुन् ।

निवेदनमा अवैधानिक नागरिकता पेश गरेर लामिछानेको अध्यक्षतामा आयोगमा दल दर्ता गरेको भन्दै कानुनसम्मत दल अवैधानिक रहेको कारण देखाउँदै दल खारेज गर्न माग गरिएको छ । आयोगमा २०७९ असार १७ गते लामिछानेको अध्यक्षतामा दल दर्ता गरिएको थियो ।

दल दर्तापश्चात् निर्वाचनमा भाग लिएर रास्वपा राष्ट्रिय दल बन्यो । लामिछाने उपप्रधान तथा गृहमन्त्रीसहित प्रचण्ड नेतृत्वको सरकारमा सहभागी पनि भएतापनि सर्वोच्च अदालतको इजलासले माघ १३ गते नागरिकता मुद्धा विवादमा लामिछानेलाई दोषी ठहर गरेसँगै पार्टी सभापति, सांसद र मन्त्री पद सबै गुमेको थियो ।

सरकारबाट बाहिरिएको दुई दिनमै लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर पुनः नेपाली नागरिकता लिएका थिए । नागरिकता प्राप्त गरेसँगै लामिछाने पुनः गृह मन्त्रालयमा फर्किने तयारी गरिरहेका छन् । यद्यपि प्रधानमन्त्री प्रचण्डले सर्वाेच्चको पूर्णपाठ नआएसम्म गृहमन्त्री नबनाउने भनेका छन् ।

राष्ट्रिय हितभन्दा बाहिर गई यस्ता कार्य भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी खारेज हुनु पर्ने उजुरीमा जिकिर गरिएको छ । यसअघि सर्वोच्च अदालतमा पनि युवराजले नै रिट दायर गर्नुका साथै लामिछानेविरुद्ध राहदानीको कसुरमा पक्राउ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी समेत दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु