१२ बैशाख २०८१, बुधबार

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता


प्रधानमन्त्री प्रचण्ड र रवि लामिछाने फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न लामिछाने प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन् ।

निवर्तमान उपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेले दुई दिनअघि मात्र प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफूलाई पुन: गृहमन्त्री नियुक्त गर्न अनुरोध गरेका थिए । यता प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रालय आफ्नै पार्टीले राख्ने र आफ्ना विश्वासपात्र शक्तिबहादुर बस्नेतलाई गृहमन्त्री बनाउने समाचार आएपछि लामिछाने हानिएर बालुवाटार पुगेका हुन् ।

आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकबाट पुनः सभापतिमा चयन भएपछि प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफूलाई फेरि गृहमन्त्री बनाउन आग्रह गरेका थिए ।

रास्वपाको आइतबार बसेको केन्द्रीय समिति बैठकले गृह मन्त्रालय फेरि आफ्नै पार्टीले पाउनुपर्ने निष्कर्ष निकालेको थियो । रास्वपाले आफ्नो भागमा परेको गृह मन्त्रालय नछोड्ने हुने दाबी गरेको छ । रास्वपाले गृह मन्त्रालयको जिम्मेवारी रास्वपाले पहिल्यै पाइसकेको जिम्मेवारी भएकाले फेरि दाबी गर्नुपर्ने अवस्था नरहेको समेत बताएको थियो ।

यता माओवादी केन्द्रका नेताहरुले हिजो गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै राख्नुपर्ने निष्कर्ष निकालेका छन् । सरकार गठन हुँदा पनि गृह मन्त्रालय आफैंले राख्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएको स्मरणसहित माओवादी नेताहरुले त्यसो नगर्दा समस्या आउन सक्नेतर्फ सचेत गराएका हुन् ।

सत्ता जोगाउने नाममा अनुचित काम नगर्न नेताहरूले प्रचण्डलाई सुझाव दिएका हुन् । यदि गृह माओवादी भागमा आएमा शक्तिबहादुर बस्नेत जाने दाउमा छन् । प्रचण्ड नेतृत्वको सरकारमा बस्नेत मन्त्री हुन खोजेपनि सत्ता साझेदार दलमा भागवण्डा मिलाउनुपर्ने भएकाले उनी रोकिएका थिए । माओवादी केन्द्रले बस्नेतलाई गृहमन्त्री बनाउनेगरी भित्रभित्रै गृहकार्य सुरु गरेको हो ।

माओवादी नेताहरु भने आन्तरिक सुरक्षाको गम्भीर जिम्मेवारी बोकेको गृह प्रधानमन्त्रीले छोड्न नहुने पक्षमा उभिएका हुन् । यसबारे बुधबार बस्ने स्थायी समिति बैठकमा औपचारिक छलफल भएर निर्णय हुने भएको छ । सत्ता साझेदार दललाई गठबन्धनमा जोगाउने नाममा गैर सांसदलाई मन्त्री नबनाउन प्रधानमन्त्री प्रचण्डलाई नेताहरूले दबाब दिएका छन् ।

प्रधानमन्त्री प्रचण्ड गृहमन्त्री आफ्नै पार्टीबाट बनाउने पक्षमा देखिएका छन् । यसअघि लामिछानेको पद नागरिकताका कारण गुमेपछि प्रधानमन्त्री प्रचण्ड माओवादीबाटै गृहमन्त्री बनाउने पक्षमा देखिएर हाल गृह मन्त्रालय आफैंसँग राखेका हुन् । प्रचण्डले पार्टीको स्थायी कमिटी बैठकमा पनि मन्त्रालयका बारेमा सत्ता साझेदार दलहरुबीच भागबण्डा मिलाउदा आफ्नो पार्टीलाई राम्रा मन्त्रालय नपरेको भएर असन्तुष्टि व्यक्त गरेका थिए ।

हिजो बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्रीबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ । हिजोको पदाधिकारी बैठकपछि बोल्दै माओवादी केन्द्र उपाध्यक्ष एवं पार्टी प्रवक्ता कृष्णबहादुर महराले गृहमन्त्रीबारे कुनै पनि कुरा नभएको बताएका थिए ।

हिजो बैठकमा गृहमन्त्री बारेमा कुरा नभएपछि प्रधानमन्त्री प्रचण्ड आफैंले यसको बारेमा निर्णय गर्ने भएका हुन् । यद्यपि प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री कसलाई बनाउने भन्ने बारेमा स्थायी समिति बैठकमा छलफल हुनेसक्ने संकेत चाहि गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड आफूले राखेको गृहमन्त्रालय आफ्नै पार्टीका सांसदलाई नै बनाउने चाहना राखेका छन् भने सत्ता गठबन्धनमा यसअघि भएको सहमतिअनुसार एमाले र रास्वपाले भने रास्वपाले नै पाउनेपर्ने अडान राख्दै आएका छन् ।

रास्वपाले पुनः गृहमन्त्रीमा दाबी गरे पनि प्रधानमन्त्री प्रचण्डले उक्त मन्त्रालय आफैंसँग राख्ने मनस्थितिमा रहेका समाचारहरु सार्वजनिक भइरहेका छन् । तर रास्वपाले गृह मन्त्रालय आफ्नो बटमलाइन भएकोले त्यसमा कुनै पनि तलमाथि गर्न नहुने बताएको थियो । रास्वपाले गृह मन्त्रालय नपाए प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने सक्नेसम्मको रणनीति बनाएको छ । आजको भेटमा यिनै विषयमा छलफल भएको हुनसक्ने अनुमान गरिएको छ ।

यो पनि पढ्नुहोस्

गृहमन्त्रीमा रविको पक्षमा ओली, प्रचण्डको आँखा शक्ति बस्नेततिर

गृहमन्त्रीबारे प्रधानमन्त्री प्रचण्ड भन्छन् – बनेपछि थाहा हुन्छ

माओवादीमा गृहमन्त्रीको बारेमा निर्णयको जिम्मा प्रधानमन्त्री प्रचण्डलाई

प्रधानमन्त्री प्रचण्डलाई भेटेर लामिछानेद्वारा आफूलाई पुनः गृहमन्त्री बनाउन अनुरोध


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !