१३ बैशाख २०८१, बिहिबार

गृहमन्त्रीमा रविको पक्षमा ओली, प्रचण्डको आँखा शक्ति बस्नेततिर


प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली

काठमाडौँ । प्रचण्ड-ओली सम्वन्ध खटपट : जुनसुकै सम्वन्ध चिरस्थायी हुन एकएर्कामा विश्वास हुनु नितान्त आवश्यक रहेको हुन्छ । चाहे प्रेमी-प्रेमिका बीच होस् वा श्रीमती र श्रीमान्मा पनि सम्वन्ध मजबुत हुन एक-अर्काले मनैदेखि विश्वास गर्न सक्नुपर्दछ । तर जव शंकाले लंका जलाउन थाल्दछ अनि सुरु हुन्छ, खटपट ।

नेपाली राजनीतिको वर्तमान सत्ता गठबन्धन दुई शीर्ष नेताहरुबीच पनि एक-अर्कामा यस्तै स्थिति सिर्जना भएको छ । सत्ता सहकार्य सुरुवात गरेको भर्खरै एक महिना मात्र पुरा भएर हनिमुन पिरियड नै नसकिँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच खटपट सुरु भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली बीचको सम्वन्धमा देखिएको खटपटले सत्ता गठबन्धनको आयू हनिमुन पिरियडसम्म पनि नपुग्ला कि भन्ने आशंका बढेको छ । यसअघि तत्कालिन नेकपाको सरकार भएको समयमा पनि बेला-बेलामा निरन्तर ओली-प्रचण्डवीच यस्तै खटपट उत्पन्न भएर अन्तिममा बियोगान्तमा टुंगिएर देशको राजनीतिक अवस्था नै अस्थिरताको खाडलतर्फ गएको थियो ।

ओली-प्रचण्डको विगतको सम्वन्धको दृष्टान्त सुखद छैन । अहिले पनि कतै यस्तै त हुने होइन भन्ने चासो र चिन्ता बढेको छ । ओलीको साथ पाएर प्रधानमन्त्री बनेका प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवासंग विश्वासको मत माग्न धुम्बाराही पुगेदेखि ओली र प्रचण्डको सम्वन्धमा दरार सुरुवात भएर ओली थप शशंकित भएका हुन् ।

सत्ता सहकार्यको लागि ओली र प्रचण्डबीच बालकोटमा भएको सुरुवाती सहमतिअनुसार राष्ट्रपति एमालेलाई दिने भनेपनि प्रचण्डले पाँचै वर्ष प्रधानमन्त्री हुने सपना देख्न थालेदेखि गठबन्धनको भविष्य अन्योलतर्फ उन्मुख भएको हो । ओली र प्रचण्डबीच एक-अर्कामा अविश्वासको खाडल यति गहिरो भइसकेको छ की कतिखेर गठबन्धन भत्किने हो भन्ने मिति कुर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

आफू सत्तामा पुग्नको लागि एक-अर्काले युज एण्ड थ्रोको रणनीति अपनाएर अर्कालाई असफल बनाउन कम्मर कसेर बदला लिने स्थिति आउँनै त लागेको होइन भनेर समयको प्रतिक्षा गर्न थालेको अनुभूति हुन थालेको छ । जव सम्वन्धमा विश्वास र सम्मान हुँदैन, अन्तत: हुन्छ सम्वन्धको ब्रेक । ओली र प्रचण्डको सत्ता सहकार्य टुट्ने संकेत देखिन थालेको छ ।

सुरुमा वर्तमान सत्ता गठबन्धनको ताला-चावी आफ्नो हातमा रहेको भनेर कुर्लिंदै आएका ओली एक महिना नपुग्दै कम्जोर देखिएका छन् । ओलीको हातमा रहेको सत्ताको ताला-चावी प्रधानमन्त्री प्रचण्डले हत्याएर आफ्नो हातमा ल्याइसकेको खतराको घण्टी सांकेतिक रुपमा बजाइसकेका छन् । प्रचण्डले देउवासंग कुम जोड्न खोजेदेखि ओलीलाई निन्दा लाग्न छोडेको छ ।

एमालेले सरकार छोडेपनि काँग्रेसलाई राष्ट्रपति दिने सर्तमा गृह मन्त्रालय आफ्नै पार्टीमा राख्ने संकेत गरिसकेका प्रधानमन्त्री प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री बनेर आफ्नो अन्तिम प्रधानमन्त्रीको कार्यकालमा देशमा केही गरेरै छाड्ने मनस्थितिमा पुगेका छन् । सत्ता सहकार्य थालेको एक महिनामै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच खटपट सुरु भएको छ ।

केही समयअघि यता राष्ट्रपति र गृहमन्त्री पदको विषयलाई लिएर सत्ता गठबन्धनमा विवाद चरम उत्कर्षमा पुगेको छ । कतिपय राजनीतिक विश्लेषकले त राष्ट्रपति र गृहमन्त्रीको विषयको जारी विवादलाई सत्ता समीकरणमा फेरबदल हुनसक्ने संकेतको रुपमा बुझ्नुपर्ने बताउन थालेका छन् । बालकोटको बार्दलीमा ओली र प्रचण्डले हल्लाएको सत्ता सहकार्यको हात क्षणिक मात्र हो भन्नेहरुको तर्कमा थप बल पुगेको छ ।

ओली र प्रचण्डको सम्वन्धमा देखिएको खटपटले मुठभेडकै मुडमा ओली र प्रचण्ड पुग्न सक्ने पनि विश्लेषण हुन थालेको छ । एक-अर्कामा बढेको अविश्वासले दुई शीर्ष नेताबीच भएको सत्ता सहकार्य अब वार कि पार नै हुने त होइन भन्ने आशंका उत्पन्न भएको हो । देउवा जसरी पनि ओली-प्रचण्डको सत्ता सहकार्य तोड्न प्रचण्डलाई ठूलो आश्वाशन दिएर भत्काउन लागिपरेका छन् । कतिपय विश्लेषक त अव ओली-प्रचण्डवीच एकअर्काप्रति आरोप-प्रत्यारोपको वर्षा सुरु भएर चाँडो भन्दा चाँडो गठबन्धन टुट्ने बताउन थालेका छन् ।

गृहमन्त्रीमा रास्वपा दावी कायमै, रविको पक्षमा ओलीको अडान

प्रधानमन्त्री प्रचण्डलाई हिजो भेटेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई पुन: गृहमन्त्री नियुक्त गर्न अनुरोध गरेका थिए ।आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकबाट पुनः सभापतिमा चयन भएपछि प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफूलाई फेरि गृहमन्त्री बनाउन आग्रह गरेका थिए ।

लामिछानेले गैरसांसदलाई मन्त्री बनाउने सक्ने नेपालको संविधानको धारा ७८ को रहेको प्रावधानको आधारमा पुन: आफूलाई उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त गर्न प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका थिए । लामिछानेले आफ्नो नागरिकताको मुद्दा सकिएको र केही दिनमा राहदानीको छानबिन पनि सकिने भएपछि गृहमन्त्रीका रूपमा आफूलाई पुनः नियुक्ति गर्न प्रधानमन्त्री प्रचण्डसँग अनुरोध गरेका थिए ।

लामिछानेले चितवन-२ मा हुने उपनिर्वाचनमार्फत् आफूले जितेर संसदमा आउने हुनाले आफूलाई गृहमन्त्री नियुक्त गर्दा अप्ठ्यारो नहुने तर्क गरेका थिए ।तर प्रधानमन्त्री प्रचण्डले कुनै ठोस जवाफ नदिई परामर्श गर्ने बताएका थिए । नागरिकता पुन:प्राप्ति गरेर पार्टीको सभापतिमा चयन भएपछि गृह मन्त्रालयमा फर्किने चाहना व्यक्त गरेका लामिछानेलाई प्रधानमन्त्री प्रचण्डले ग्रिन सिग्नल दिएका थिएनन् ।

यद्यपि प्रधानमन्त्री प्रचण्ड गृहमन्त्री आफ्नै पार्टीबाट बनाउने पक्षमा देखिएका छन् । यसअघि लामिछानेको पद नागरिकताका कारण गुमेपछि प्रधानमन्त्री प्रचण्ड माओवादीबाटै गृहमन्त्री बनाउने पक्षमा देखिएर हाल गृह मन्त्रालय आफैंसँग राखेका हुन् । प्रचण्डले पार्टीको स्थायी कमिटी बैठकमा पनि मन्त्रालयका बारेमा सत्ता साझेदार दलहरुबीच भागबण्डा मिलाउदा आफ्नो पार्टीलाई राम्रा मन्त्रालय नपरेको भएर असन्तुष्टि व्यक्त गरेका थिए ।

यस्तै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच हिजो भएको भेटवार्तामा लामिछानेलाई तुरुन्त गृहमन्त्री पदमा बहाली गर्न पनि ओलीले प्रधानमन्त्री प्रचण्डलाई दबाव दिएपनि प्रधानमन्त्री प्रचण्ड सोको लागि तयार नभएको जस्ता समाचार बाहिर आएका थिए । गृहमन्त्रीमा लामिछानेलाई नै बनाउनुपर्ने पक्षमा ओलीले अडान लिंदै आएका छन् ।

रास्वपाको हिजो बसेको केन्द्रीय समिति बैठकले गृह मन्त्रालय फेरि आफ्नै पार्टीले पाउनुपर्ने निष्कर्ष निकालेको थियो । रास्वपाले आफ्नो भागमा परेको गृह मन्त्रालय नछोड्ने हुने दाबी गरेको छ । रास्वपाले गृह मन्त्रालयको जिम्मेवारी रास्वपाले पहिल्यै पाइसकेको जिम्मेवारी भएकाले फेरि दाबी गर्नुपर्ने अवस्था नरहेको समेत बताएको थियो । रास्वपाले गृह मन्त्रालय आफ्नो बटमलाइन भएकोले त्यसमा कुनै पनि तलमाथि गर्न नहुने बताएको थियो । रास्वपाले गृह मन्त्रालय नपाए प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने सक्नेसम्मको रणनीति बनाएको छ ।

गृहमा प्रचण्डको आँखा शक्ति बस्नेततिर

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरुले आज गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै राख्नुपर्ने निष्कर्ष निकालेका छन् । सरकार गठन हुँदा पनि गृह मन्त्रालय आफैंले राख्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएको स्मरणसहित माओवादी नेताहरुले त्यसो नगर्दा समस्या आउन सक्नेतर्फ सचेत गराएका हुन् ।

माओवादी नेताहरु भने आन्तरिक सुरक्षाको गम्भीर जिम्मेवारी बोकेको गृह प्रधानमन्त्रीले छोड्न नहुने पक्षमा उभिएका हुन् । यसबारे बुधबार बस्ने स्थायी समिति बैठकमा औपचारिक छलफल भएर निर्णय हुने भएको छ । सत्ता साझेदार दललाई गठबन्धनमा जोगाउने नाममा गैर सांसदलाई मन्त्री नबनाउन प्रधानमन्त्री प्रचण्डलाई नेताहरूले दबाब दिएका छन् ।

आजको बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्रीबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ । आजको पदाधिकारी बैठकपछि बोल्दै माओवादी केन्द्र उपाध्यक्ष एवं पार्टी प्रवक्ता कृष्णबहादुर महराले गृहमन्त्रीबारे कुनै पनि कुरा नभएको बताए ।

आजको बैठकमा गृहमन्त्री बारेमा कुरा नभएपछि प्रधानमन्त्री प्रचण्ड आफैंले यसको बारेमा निर्णय गर्ने भएका हुन् । यद्यपि प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री कसलाई बनाउने भन्ने बारेमा स्थायी समिति बैठकमा छलफल हुनेसक्ने संकेत चाहि गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री को बन्छ भन्ने पत्रकारको प्रश्नको उत्तर दिंदै बनेपछि मात्र थाहा हुने घुमाउरो जवाफ दिएका छन् । माओवादी केन्द्रको पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा पदाधिकारी बैठक सकिएपछि बाहिरिंदै गर्दा प्रधानमन्त्री प्रचण्डले नयाँ गृहमन्त्री कसलाई बनाउने भन्ने बारेमा अझै निर्णयमा पुगिनसकेको संकेत गरेका हुन् ।

संचारकर्मीले गृहमन्त्री कसलाई बनाउनु हुन्छ प्रधानमन्त्रीज्यू ? भनेर सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘अब बनेपछि थाहा पाउनु होला ।’ नयाँ गृहमन्त्री कसलाई बनाउने भन्ने विषयलाई लिएर सत्ता साझेदार दलहरु माओवादी केन्द्र, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा द्वन्द्व सिर्जना भएको हो ।

प्रधानमन्त्री प्रचण्ड आफूले राखेको गृहमन्त्रालय आफ्नै पार्टीका सांसदलाई नै बनाउने चाहना राखेका छन् भने सत्ता गठबन्धनमा यसअघि भएको सहमतिअनुसार एमाले र रास्वपाले भने रास्वपाले नै पाउनेपर्ने अडान राख्दै आएका छन् ।

सत्ता जोगाउने नाममा अनुचित काम नगर्न नेताहरूले प्रचण्डलाई सुझाव दिएका छन् । यदि गृह माओवादी भागमा आएमा शक्तिबहादुर बस्नेत जाने दाउमा छन् । प्रचण्ड नेतृत्वको सरकारमा बस्नेत मन्त्री हुन खोजेपनि सत्ता साझेदार दलमा भागवण्डा मिलाउनुपर्ने भएकाले उनी रोकिएका हुन् । माओवादी केन्द्रले बस्नेतलाई गृहमन्त्री बनाउनेगरी भित्रभित्रै गृहकार्य सुरु गरेको हो ।

प्रचण्डले गृहमन्त्रीमा पार्टीबाट उपमहासचिव वर्षमान पुनलाई अघि बढाउन चाहेपनि पुनको स्वास्थ्यले साथ नदिएकाले उनले पूर्व गृहमन्त्री बस्नेतलाई नै अघि बढाउने भएका हुन् । बस्नेत प्रचण्डको विश्वासपात्रको रुपमा चिनिन्छन् ।

यो पनि पढ्नुहोस्

गृहमन्त्रीबारे प्रधानमन्त्री प्रचण्ड भन्छन् – बनेपछि थाहा हुन्छ

माओवादीमा गृहमन्त्रीको बारेमा निर्णयको जिम्मा प्रधानमन्त्री प्रचण्डलाई

प्रधानमन्त्री प्रचण्डलाई भेटेर लामिछानेद्वारा आफूलाई पुनः गृहमन्त्री बनाउन अनुरोध


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !