६ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री प्रचण्डलाई भेटेर लामिछानेद्वारा आफूलाई पुनः गृहमन्त्री बनाउन अनुरोध


प्रधानमन्त्री प्रचण्ड र रवि लामिछाने फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई पुन: गृहमन्त्री नियुक्त गर्न अनुरोध गरेका छन् ।

आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकबाट पुनः सभापतिमा चयन भएपछि प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफूलाई फेरि गृहमन्त्री बनाउन आग्रह गरेका हुन् । लामिछानेले गैरसांसदलाई मन्त्री बनाउने सक्ने नेपालको संविधानको धारा ७८ को रहेको प्रावधानको आधारमा पुन: आफूलाई उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त गर्न प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका हुन् ।

लामिछानेले आफ्नो नागरिकताको मुद्दा सकिएको र केही दिनमा राहदानीको छानबिन पनि सकिने भएपछि गृहमन्त्रीका रूपमा आफूलाई पुनः नियुक्ति गर्न प्रधानमन्त्री प्रचण्डसँग अनुरोध गरेका थिए । लामिछानेले चितवन-२ मा हुने उपनिर्वाचनमार्फत् आफूले जितेर संसदमा आउने हुनाले आफूलाई गृहमन्त्री नियुक्त गर्दा अप्ठ्यारो नहुने तर्क गरेका थिए ।

तर प्रधानमन्त्री प्रचण्डले कुनै ठोस जवाफ नदिई परामर्श गर्ने बताएको बालुवाटार स्रोतले बताएको छ । नागरिकता पुन:प्राप्ति गरेर पार्टीको सभापतिमा चयन भएपछि गृह मन्त्रालयमा फर्किने चाहना व्यक्त गरेका लामिछानेलाई प्रधानमन्त्री प्रचण्डले कुनै ठोस जवाफ र आश्वासन नदिएएर सोबारेमा कानुनविद्हरू र निर्वाचन आयोगसँग परामर्श गर्ने जवाफ दिएका हुन् ।

यद्यपि प्रधानमन्त्री प्रचण्ड गृहमन्त्री आफ्नै पार्टीबाट बनाउने पक्षमा देखिएका छन् । यसअघि लामिछानेको पद नागरिकताका कारण गुमेपछि प्रधानमन्त्री प्रचण्ड माओवादीबाटै गृहमन्त्री बनाउने पक्षमा देखिएर हाल गृह मन्त्रालय आफैंसँग राखेका हुन् । प्रचण्डले पार्टीको स्थायी कमिटी बैठकमा पनि मन्त्रालयका बारेमा सत्ता साझेदार दलहरुबीच भागबण्डा मिलाउदा आफ्नो पार्टीलाई राम्रा मन्त्रालय नपरेको भएर असन्तुष्टि व्यक्त गरेका थिए ।

गत पुस १० गते सत्ता साझेदार दलबीच भएको भागबण्डा हुँदा लामिछानेले गृह मन्त्रालय नपाएसम्म सरकारमै नजाने अडान लिएपछि ओली र प्रचण्डको सल्लाहमा उनलाई उक्त मन्त्रालयको जिम्मेवारी दिइएको थियो । सर्वोच्च अदालतले शुक्रबार नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै सांसद पद बदर गरेको थियो । सो फैसलासँगै उनले सांसद, मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिको पद खारेज भएको थियो ।

यस्तै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । लामिछानेलाई तुरुन्त गृहमन्त्री पदमा बहाली गर्न पनि ओलीले प्रधानमन्त्री प्रचण्डलाई दबाव दिएपनि प्रधानमन्त्री प्रचण्ड सोको लागि तयार नभएको जस्ता समाचार बाहिर आएतापनि ओलीले कुनै दबाव नदिएको र लामिछानेलाई गृहमन्त्री बनाउनै पर्छ भन्ने चाहना पनि व्यक्त नगरेको बालुवाटार स्रोतले बताएको छ ।

रास्वपाको आज बसेको केन्द्रीय समिति बैठकले गृह मन्त्रालय फेरि आफ्नै पार्टीले पाउनुपर्ने निष्कर्ष निकालेको छ । रास्वपाले आफ्नो भागमा परेको गृह मन्त्रालय नछोड्ने हुने दाबी गरेको छ । रास्वपा प्रवक्ता मुकुल ढकालले लामिछानेले पद गुमाए पनि गृह मन्त्रालय आफूहरुको भागमा परेको हुँदा दाबी कायमै रहने रास्वपाले बताएका छन् ।

ढकालले गृह मन्त्रालयको जिम्मेवारी रास्वपाले पहिल्यै पाइसकेको जिम्मेवारी भएकाले फेरि दाबी गर्नुपर्ने अवस्था नरहेको समेत बताएका छन् । ढकालका अनुसार अब पार्टी सभापति लामिछानेले सत्ता साझेदार दलका शीर्ष नेतालाई भेटेर गृहमन्त्रीको बन्ने टुंगो लगाउने बताएका छन् ।

रास्वपाले गृह मन्त्रालय आफ्नो बटमलाइन भएकोले त्यसमा कुनै पनि तलमाथि गर्न नहुने बताएको छ । रविको राजीनामापछि अहिले गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै सम्हालिरहेका छन् । यता रास्वपाले गृह मन्त्रालय नपाए प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने सक्नेसम्मको रणनीति बनाएको छ । गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने तयारीमा रहेको रास्वपाका एक नेताले बताएका छन् ।

आज एमाले अध्यक्ष ओलीले पनि प्रचण्डलाई भेटेर रास्वपा सभापति लामिछानेलाई पुन: गृहमन्त्री बनाउन दवाव दिएको र लामिछानेले समेत भेटेर गृहमन्त्रीमा दोहोरिन चाहेका हुन् । यसरी पुन: नागरिकता लिएपछि बाघ बनी सिंहदरबार छिर्ने चाहना राखेका हुन् । दोहोरो दवावमा परेका प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयबारे छलफल गर्न सोमबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।

यो पनि पढ्नुहोस्

नागरिकता लिएर पार्टी सभापति भएपछि प्रधानमन्त्रीलाई बालुवाटार पुगेर भेटे लामिछानेले

अब मैले भन्नुपर्ने केही छैन, गर्नुपर्ने धेरै छ : सभापति लामिछाने

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको चेतावनी

दुई दिन नबित्दै रवि लामिछाने बने पुन: रास्वपाको सभापति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !