२३ बैशाख २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्डद्वारा सचिवालयमा कर्मचारी नियुक्त, सन्तु दराई प्रमुख स्वकीय सचिव


प्रधानमन्त्री प्रचण्डद्वारा सचिवालय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सचिवालयमा कर्मचारी नियुक्त गरेका छन् । हिजो बिहीबार प्रधानमन्त्री प्रचण्डले सचिवालयमा रहने कर्मचारीलाई नियुक्ति पत्र दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो प्रमुख स्वकीय सचिवमा सन्तु दराई, स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाल नियुक्त गरेका छन् । यस्तै प्रधानमन्त्रीको स्वकीय सचिवमा निजामतीतर्फबाट नवराज ढुंगाना र स्वकीय सहसचिवमा गोकर्ण भट्टलाई नियुक्त गरिएको छ ।

प्रेस विज्ञमा मनहरि तिमिल्सेना र प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त भएका छन् । प्रेस संयोजकमा शर्मालाई राखिएदेखि उनले व्यवस्थित रुपमा प्रभावकारी ढंगले सामाजिक संजालमार्फत प्रधानमन्त्री प्रचण्डका कार्यक्रम, सूचना र समाचारहरुको जानकारी दिंदै आएका छन् ।

प्रमुख स्वकिय सचिवले राज्यमन्त्री सरह र सचिवले सहायकमन्त्री सरहको सुविधा पाउँछन् । प्रमुख स्वकिय सचिवमा नियुक्त दराईमा जनयुद्धकालका कमाण्डर तथा पोलिटव्युरो सदस्य हुन् । दराई जनमुक्ति सेनाका सबैभन्दा अनुशासित कमाण्डर मानिन्थे । उनी यस अघि २०७० सालमा समानुपातिक कोटाबाट संविधान सभासदस्य समेत बनेका थिए ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार दराई २०४० सालदेखि प्रचण्डको सहयोगीको रुपमा काम गर्दै आएका नेता हुन् । प्रधानमन्त्री प्रचण्डले निजी सचिवका रुपमा पोलिटव्युरो सदस्य तथा अखिल क्रान्त्तिकारीका पूर्व अध्यक्ष मल्ल र केन्द्रीय सदस्य दाहाललाई नियुक्त गरेका छन् ।

स्वकीय सचिवालयमा रहेका तीनै जना प्रधानमन्त्री हुनु पहिलेदेखि नै प्रचण्डको सचिवालयमा थिए । गंगा दाहाल प्रचण्डकी कान्छी छोरी हुन् । दाहाल विगत ४ वर्षदेखि प्रचण्डको निजी सचिवको रुपमा कार्यरत थिइन् ।

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार, कुटनीतिक सल्लाहकार, जनसम्पर्क विज्ञ र आइटी विज्ञ लगायत क्षेत्रमा कसैलाई नियूक्त नगरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले सचिवालय चुस्त दुरुस्त बनाउने बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !