२१ बैशाख २०८१, शुक्रबार

विमान दुर्घटनाप्रति प्रतिनिधिसभाबाट बिशेष प्रस्ताव पारित


प्रतिनिधिसभाको बैठक

काठमाडौैं । प्रतिनिधिसभाको आजको बैठकले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति बिशेष प्रस्ताव परित गर्दै शोक व्यक्त गरेको छ । बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले प्रस्तुत गरेकोे सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

काठमाडौँबाट पोखराका लागि प्रस्थान गरेको यति एयरलाइन्सको विमान आइतबार बिहान पोखरामा दुर्घटनाग्रस्त हुँदा चालक दलका चारसहित ७२ जनाको निधन भएको थियो । दुर्घटनामा निधन भएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैठकमा १ मिनेट मौनधारण समेत गरिएको थियो ।

यसैबीच, बैठकमा सभामुखको भूमिकामा रहेका ज्येष्ठ सदस्य पशुपति शम्शेर राणाले राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठन सम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

बैठकमा नेकपा(एमाले) का सांसद सुवासचन्द्र नेम्वाङले,‘यस सभाका मा. सदस्य देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई नेकपा(माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, राप्रपाका अध्यक्ष तथा उपप्रधान एवं ऊर्जामन्त्री राजेन्द्रप्रसाद लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले समर्थन गरेका थिए ।

त्यसैगरी, बैठकमा नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले ‘यस सभाका मा.सदस्य ईश्वरीदेवी न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई नेकपा(एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले समर्थन गरेका थिए ।

विमान दुर्घटनाका बिषयमा जानकारी गराउन रुलिङको माग

प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गत आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाका सम्बन्धमा सदनलाई जानकारी गराउन सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकको शुरुमै समय मागेर बोल्दैै नेपाल सरकारलाई सो घटनाका सम्बन्धमा जानकारीका लागि रुलिङको माग गरेका थिए ।

बैठकमा मजदूर किसान पार्टी(नेमकिपा)ले विद्यमान कानून अनुरुप प्रतिनिधिसभाको प्रमुख विपक्ष दलको मान्यता प्रदान गर्न माग गरेको छ ।
समय मागेर बोल्दै नेमकिपाका सांसद प्रेम सुवालले सरकारलाई समर्थन गर्ने दल प्रमुख प्रतिपक्ष दल हुन नसक्ने जिकिर गर्दै विपक्षमा उभिएको आफ्नो दलले प्रमुख विपक्षी दलको मान्यता पाउनुपर्ने दावी गरेका थिए ।

पर्यटनमन्त्रीद्वारा विमान दुर्घटनाबारे सदनलाई जानकारी

सस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले काठमाडौँबाट पोखराका लागि उडेको यति एयरलाइन्सको विमान दुर्घटना भएको घटनाबारे सदनलाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा मन्त्री किराँतीले पोखरा विमानस्थल नजिकै बिहान १०ः५० बजे सो विमान दुर्घटना भई सेती नदीको खोँचमा खसेको विमानमा चालक दलसहित ७२ जना सवार रहेको सभालाई जानकारी गराएका थिए ।

हालसम्म ७१ यात्रुको शव फेला परेको र उनीहरुको पोखरा र काठमाडौंमा रहेका अस्पतालमा शव परीक्षण गरी आफन्तलाई हन्तान्तरण गर्ने काम भइरहेको बताउँदै मन्त्री किराँतीले विमान दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासन समेतको सहयोगमा खोज तथा उद्धार कार्य जारी रहेको बताए ।

मन्त्री किराँतीले दुर्घटनाबारे सत्यतथ्य पत्ता लगाई आगामी दिनमा यस्ता घटना हुन नदिन गैरसैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली, २०७१ अनुसार दुर्घटना जाँच आयोग गठन गरेकमा आयोगले छानविन कार्य शुरु गरिसकेको पनि जानकारी दिए । आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही माघ ७ गते शनिबार दिउँसो १ बजे बस्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !