१४ बैशाख २०८१, शुक्रबार

काँग्रेस प्रवक्ता भन्छन् – सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्छौँ


डा. प्रकाशशरण महत फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नो पार्टी विपक्षमा रहुञ्जेल सशक्त प्रतिपक्षी दलको भूमिका निर्वाह गर्ने बताएका छन् ।

उनले कांग्रेसले संसद्मा जनसरोकारका विषय, राष्ट्रियता अखण्डता, जनताका आवश्यकताका विषय, सुशासन, विकास, रोजगारीलगायतका विषयलाई प्राथमिकताका साथ सशक्तरुपमा उठाउने बताए ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि नयाँ सरकार गठनसँगै विपक्षी दल बनेको कांग्रेसका प्रवक्ता डा. महतले आज पत्रकार सम्मेलन गरी पार्टीका धारणा सार्वजनिक गरेका हुन् । निर्वाचनमा तत्कालीन सत्तागठबन्धनले कांग्रेसको नेतृत्वमा अपेक्षाकृत सफतला नपाए पनि सन्तोेषजनक सफलता प्राप्त गरेको उनको भनाइ थियो ।

कांग्रेस गठबन्धनमा कही कतै विचलित नभएको र निरन्तरता दिन पूरै कोसिस गरेको बताउँदै उनले भने, “हामीले कही कतै पनि वैकल्पिक समर्थन जुटाएर सरकारको नेतृत्व लिनेतर्फ पनि कुनै प्राथमिकता दिएनौँ, त्यो अवस्थामा गठबन्धन टुट्नु र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन छोडेर जानुमा कांग्रेसको कुनै दोष छैन् । यद्यपि सरकारको नेतृत्व उहाँलाई दिएर गठबन्धन बचाउने विकल्पका बारेमा छलफल गर्ने, सोच्ने र निर्णय गर्ने समय प्राप्त भएन ।”

प्रवक्ता महतले माओवादी केन्द्रका अध्यक्ष दाहालले किन गठबन्धन छोड्नुभयो भन्ने विषय आगामी दिनमा विश्लेषण हुँदै जाने र यसबाट आउने परिणाम तथा असरका बारेमा मिडिया र जनताले पनि मूल्याङ्कन गरेको उल्लेख गरे ।

उनले तत्कालीन सत्तागठबन्धनलाई निरन्तरता दिई नयाँ सरकारको तहमा निन्तरता दिने सबै दलले प्रतिबद्धता गरेको र त्यसमा माओवादी केन्द्रका अध्यक्ष दाहाल पछाडि हटी त्यो गठबन्धनको सरकार नबनी वैकल्पिक गठबन्धनको सरकार बनेको बताए ।

“यो शुद्ध अवसर केन्द्रित गठबन्धन हो भन्ने हामीलाई लागेको छ, त्यसमा राजतन्त्र चाहिन्छ भन्ने देखि राजतन्त्र कुनै पनि हालतमा हुनु हुँदैन भन्ने सङ्घीयता पक्षधर र विरोधीलगायत सबै प्रकारका विचार भएका पार्टी एक ठाउँमा पदीय चाहनाबाट उन्मुख भएर यो गठबन्धन बनेको देखिन्छ”, उनले टिप्पणी गरे, “यो सरकारको विरोधाभाषपूर्ण अवस्था छ, यसबाट नै यस गठबन्धनको आयु छोटिन सक्ने प्रशस्त सम्भावना रहेको हामीले देखिराखेका छौँ । तथापि कांग्रेस जुन बेलासम्म विपक्षमा रहन्छ त्यसबेलासम्म हामी सशक्त प्रतिपक्षी दलको भूमिका निर्वाह गर्छौँ ।”

आगामी दिनमा पार्टीको सङ्गठन सृदृढीकरण, पार्टीमा एकता, विषय नीति र केन्द्रित भएर कांग्रेसले काम गर्ने नेता महतले उल्लेख गरे । संसद्को सबैभन्दा ठूलो पार्टी सरकार बन्नबाट बाहिरिनुपर्ने र सानो पार्टी सरकारको नेतृत्वको बागडोरमा रहने परिवेशका बारेमा पनि भविष्यमा समीक्षा हुने उनले बताए । जनमनतका आधारमा नेतृत्व नहुने परिवेश र जनताको म्याण्डेटका आधारमा राज्य सत्ताको नेतृत्व नहुने अवस्थाले पनि यो विषय आमजनताको छलफल र राष्ट्रिय बहसको विषय बन्ने उनको धारणा थियो ।

प्रवक्ता डा महतले अहिलेको परिस्थिति अनायासमै भएर केही निराशा देखिएजस्तो भए पनि यो चुनौतीलाई अवसरमा परिणत गर्ने बताए । साथै उनले सशक्त पार्टी बनाई आगामी दिनमा एक्लै बहुमतका साथ विजयी हुने लक्ष्यसहित अघि बढ्ने प्रण गरे । वर्तमान परिवेशका सन्दर्भमा यही पुस २८ गते बस्ने बैठकमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पनि बृहत् समीक्षा हुने उनले जानकारी गराए ।

नेता महतले पार्टी सुदृढीकरण अभियानअन्तर्गत पार्टीका विभागले पूर्णता पाउने, कोभिड १९ र विभिन्न तहका निर्वाचनका कारणले अधिवेशन हुन नसकेका र पूर्णता पाउन नसकेका भ्रातृ र शुभेच्छुक संस्थाका अधिवेशन भई पार्टीले गतिशीलता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !