१४ बैशाख २०८१, शुक्रबार

यी हुन् जसपाको राजनीतिक समितिको बैठकले गरेका मुख्य ५ निर्णयहरु


जसपा फाइल फोटो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले विचार मिल्ने विभिन्न पार्टीहरुसँग एकताको लागि वार्ता समिति गठन गरेको छ । काठमाडौंमा बसेको राजनीति समितिको बैठकले नेता राजेन्द्र श्रेष्ठको संयोजनमा वार्ता समिति गठन गरेको हो ।

जसपको उक्त समितिमा रकम चेम्जोंग र गोविंद चौघरी रहेका छन् । जसपाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नीति र कार्यक्रम मिले सहभागी हुने बताएको छ ।

शक्ति बाँडफाँट पनि उचित ढंगबाट हुनुपर्ने भन्दै जसपाले माघ मसान्तभित्र पार्टीको निस्क्रिय संगठनहरूलाई क्रियाशिल बनाउने समेत निर्णय गरेको छ । जसपा नेपालको राजनीतिक समितिको बैठकले गरेका मुख्य ५ वटा निर्णयहरु गरेको छ ।

१. पार्टीका मूल सिद्धान्तहरु गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीताको प्रतिकूल नहुने गरी सरकारले न्युनतम साझा नीति तथा कार्यक्रम ल्याएको अवस्थामा, पार्टीका माग र मुद्धा सम्बोधन हुने अवस्था देखिएमा र पावर सेयरीङमा सम्मानजनक अवस्था रहेमा पार्टी सरकारमा सहभागि हुने ।

२. विभिन्न राजनीतिक दल संगठनहरुसंग एकता सहकार्य तथा गठबन्धन सम्बन्धी वार्ता गर्नका लागि राजेन्द्रप्रसाद श्रेष्ठ संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति गठन भएको छ । समितिको सदस्यहरुमा रकम चेम्जोङ र गोविन्द चौधरी छन् ।

३. क्रियाशिल एवम् प्रभावकारी नरहेका पार्टीका विभिन्न समिति÷संगठनहरुलाई क्रियाशिल बनाउन आवश्यक्ता अनुसार विघटन, गठन-पुनर्गठन गर्नको लागि माघ मसान्त सम्मको समय सीमा दिइएको छ ।

४. निर्वाचनमा घात अन्तरघात गर्ने पार्टीका पदाधिकारी तथा सदस्यहरुमाथि जाँचबुझ र छानवीन गरी कारवाही गर्न शिवलाल थापाको संयोजकत्वमा ३ सदस्यीय छानवीन समिति गठन भएको छ । समितिको सदस्यहरुमा बालकिशोर यादव, अशोककुमार लगरवार, प्रमीला यादव र देवबहादुर दुरा रहेका छन् ।

५. पार्टी विधान अधिवेशनको लागि मस्यौदा तयार गर्न अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा ११ सदस्यीय विधान मस्यौदा समिति गठन भएको छ । समितिको सदस्यहरुमा राजेन्द्रप्रसाद श्रेष्ठ, रकम चेम्जोङ, लालबाबु राउत, सुशिला श्रेष्ठ, शिवलाल थापा, अशेश्वर यादव, भगवती सुवेदी, दीपेन्द्र झा, वीरेन्द्र ठाकुर र दीपक राई छन् ।

बैठकमा अध्यक्षद्वको मौखिक प्रतिवेदनमा ४७ जना नेताहरुले आफ्ना धारणा राखेका थिए भने “न्यूनतम साझा नीति तथा कार्यक्रम र सरकारमा सहभागिता” शिर्षकको कार्यसूचिमा २३ जना नेताहरु बोलेका थिए ।

आगामी चैत्रसम्ममा पार्टीको विधान अधिवेशन गर्ने र जेठसम्ममा पार्टीको महाधिवेशन गर्ने बैठकमा मोटामोटी सहमति भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !