२१ बैशाख २०८१, शुक्रबार

शेखर समूहमा सहमति, संसदीय दलको नेतामा गगनले उम्मेदवारी दिने


शेखर-गगन समूह

काठमाडौँ । नेपाली कांग्रसको संस्थापनइतर डा. शेखर कोइराला समूहको संसदीय दलमा साझा उम्मेदवार बनाउने बारेमा सहमति जुटेको छ । कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् ।

हिजो दिनभर बैठक बस्दा पनि सहमति जुट्न नसकेपछि आज बिहान पुनः बैठक बसेर सहमति जुटाएको हो । कोइराला समूहबाट थापा संसदीय दलको नेताको उम्मेदवार बन्ने र कोइराला प्रस्तावक बन्ने सहमति भएको छलफलमा सहभागी भएको हो ।

नेता कोइराला र महामन्त्री थापा दुवैले संसदीय दलको नेतामा दाबी गरेपछि यो समूहमा संसदीय दलको नेतामा को उठ्ने भन्ने विवाद सिर्जना भएको थियो । संस्थापन समूहबाट पार्टी सभापति शेरबहादुर देउवा संसदीय दलको नेताको उम्मेदवार बन्दै छन् भने संस्थापनइतर समूहमा थापा उम्मेदवार बन्ने भएका हुन् ।

थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै आफू संसदीय दलको नेता बन्न गृहकार्य थालेका थिए भने चुनावको अन्तिम समयमा आएर कोइरालाले समेत दल नेतामा लड्ने चाहना देखाएपछि दुई नेताहरु बीचमा टक्करको स्थिति सिर्जना भएको थियो । काँग्रेसको निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि आज दिउँसो २ देखि ३ बजेसम्मको समय दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !