१४ बैशाख २०८१, शुक्रबार

रावललाई बालेनको जवाफ : हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन


डा. भिम रावल र बालेन शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका नेता डा. भिम रावललाई जवाफ दिंदै हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर नभएको भनेर जवाफ दिएका छन् ।

सामाजिक संजाल फेसबुकमा लेख्दै मेयर शाहले अमेरिकी राजदूत डिन आर. थम्पसनले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र आफूले भेट्ने अनुमति दिएका स्पष्ट पारेका छन् ।

यसअघि आजै मात्र नेता रावलेले नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था भएको भन्दै मेयर शाहले अमेरिकी राजदूतसंग भेटवार्ताबारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन ? स्पष्ट गरियोस् भनेर प्रश्न उठाएका थिए । उनले संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गर्न आग्रह समेत गरेका थिए ।

मेयर शाहले अमेरिकी राजदूतले आफूसँग पटक-पटक भेट्न खोज्दा आफूले चाहिँ बरु उल्टै उनलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेको र उनले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएको स्पष्टीकरण दिएका छन् ।

शाहले अमेरिकी राजदूतले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आएको तर आफूले अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका पनि बताएका छन् ।

यसका साथै उनले एमसीसीमार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपालमा नै प्रयोग गरेर आर्थिक उन्नति गर्नुपर्छ भन्ने धारणा व्यक्त गरेको बताएका छन् । यसरी मेयर शाहले अमेरिकी राजदूतलाई भेटेको विषयलाई लिएर उनी र रावलबीच जुहारी चलेको हो ।

यो पनि पढ्नुहोस्

ओलीलाई बालेनको जवाफ : सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !