२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री देउवा नवौँ राष्ट्रिय खेलकुदको समापनका लागि पोखरा आउँदै


शेरबहादुर देउवा

कास्की । गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समापन समारोहका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउने भएका छन् ।

पोखरा रङ्गशालामा आज साँझ हुने राष्ट्रिय खेलकुदको भव्य समापन समारोहमा प्रधानमन्त्री देउवा सहभागी हुने राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य एवं प्रतियोगिताका समारोह उपसमितिका संयोजक एकेन्द्रबहादुर कुँवरले जानकारी दिए । प्रधानमन्त्री देउवाले प्रतियोगिताको च्याम्पियन टोलीलाई रनिङ शिल्ड प्रदान गर्नेछन् ।

संयोजक कुँवरका अनुसार समारोहमा प्रधानमन्त्री देउवासहित युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, प्रदेशका मन्त्रीहरु, तीनवटै सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिको सहभागिता रहनेछ । यसअघि गत असोज २८ देखि सुरु भएको राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए ।

समारोह उपसमितिका अनुसार प्रतियोगिताको उद्घाटन समारोहमा जस्तै गरी समापन पनि भव्य हुनेछ । मार्चपास, मस्कट प्रदर्शन, तीनवटै सुरक्षा निकायबाट संयुक्त ब्याण्ड प्रदर्शन, झाँकीसहित दुई घण्टाको भव्य समापन समारोह हुने समारोह उपसमितिका संयोजक कुँबरले जानकारी दिए । उनले भने, “जसरी हामीले भव्य उद्घाटन गरौँ, त्यसरीनै हजारौँको सहभागितामा नवौँ राष्ट्रिय खेलकुदको बिदाइ गर्नेछौँ ।”

समापन समारोहमा च्याम्पियन टोलीलाई ट्रफी र पुरुष फुटबलका विजेता खेलाडीलाई मेडल प्रदान गरिनेछ । समारोहमा राष्ट्रिय कलाकारबाट गीत तथा नृत्य प्रस्तुत हुने र अन्तिममा भव्य आतिशबाजीसहित समारोहको समापन हुने आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !