२४ बैशाख २०८१, सोमबार

शताब्दी पुरुष जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा


सत्यमोहन जोशी

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले जोशीको निधनको शोकमा भोलि कात्तिक १ गते सार्वजनिक बिदा दिने भएको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज सोमबार एक विज्ञप्ति जारी गरी भोलि कार्तिक १ गते मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

जोशीको निधनको शोकमा नेपाल राज्यभरिका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरू विदेशस्थित कूटनीतिक नियोगहरूमा भोलि मंगलबार सार्वजनिक बिदा दिने भएको हो । भोलि नेपालको राष्ट्रिय झन्डा झुकाउने पनि निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आइतबार ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेज पुगेर जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै जोशीको निधनमा सरकारले शोक व्यक्त गर्दै एकदिन सार्वजनिक बिदा दिने घोषणा गरेको बताएका थिए ।

जोशीको १०३ वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा हिजो बिहान निधन भएको थियो । पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उनी पछिल्लो समय डेङ्गुबाट समेत सङ्क्रमित भई सो मेडिकल कलेजमा यही असोज ७ गते भर्ना भई उपचाररत थिए ।

यस्तो छ हेर्नुहोस् गृह मन्त्रालयले निकालेको सूचना

गृह मन्त्रालयले निकालेको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !