२० बैशाख २०८१, बिहिबार

निर्वाचन सफल बनाउने अभियानमा लाग्न सचिव डा. अर्यालको निर्देशन


डा. वैकुण्ठ अर्याल फाइल फोटो

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफल बनाउने अभियानमा लाग्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

मन्त्रालयमा आज आयोजित छलफलमा उनले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउने अभियानलाई सघाउन सरकारी सञ्चार माध्यम तथा यससँग सरोकार राख्ने निकायलाई आग्रह समेत गरे ।

सञ्चारमाध्यमले निर्वाचनसम्बन्धी आचारसंहिता कडाइका साथ पालना गर्नुपर्ने र सर्वसाधारणलाई यसबारेमा सुचित गराउनुपर्ने सचिव अर्यालले जोड दिनुभयो । छलफलमा राष्ट्रिय समाचार समिति (रासस), रेडियो नेपाल, नेपाल टेलिकम, नेपाल दूरसञ्चार प्राधिकरण, सूचना तथा प्रशारण विभागलगायत मन्त्रालय सम्बद्ध निकायका अधिकारीले निर्वाचनलाई मर्यादित बनाउने विषयमा आ–आफ्नो कार्यालयबाट भरपुर सहयोग हुने प्रतिबद्धता जनाए ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले निर्वाचनका समयमा समाचार लेखन तथा सम्पादनका क्रममा अपनाउनुपर्ने तथा कर्मचारीले पालना गर्नुपर्ने विषयमा गत भदौ २६ गते नै स्वनियम बनाएर ७७ जिल्लाकै कर्मचारीसमक्ष पुर्याइएको बताए । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनका बारेमा सरकारी सञ्चार माध्यमबाट भ्रामक तथा भड्किलो खालका प्रचार नहुने बताए ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले सामाजिक सञ्जाल र अनलाइन माध्यमलाई नियमन गर्ने विषयमा यससँग सरोकार राख्ने निकायबीच सहकार्य गर्नुपर्नेमा जोड दिए । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले निर्वाचनसम्बन्धी समाचारलाई सन्तुलित बनाउन र आचारसंहिता पालना गराउने विषयमा संस्थानले छुट्टै संयन्त्र बनाएको बताए ।

नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले निर्वाचनसम्बन्धी गतिविधिलाई प्रभावकारी बनाउन कार्यदल गठन तथा सञ्चारकर्मीका लागि तालिमलगायत कार्यक्रम गरिएको जानकारी गराए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !