२२ बैशाख २०८१, शनिबार

काँग्रेसमा गगन र शशांकले गरे आफूलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा


गगन थापा र डा. शशांक कोइराला

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसमा प्रतिनिधिसभाको उम्मेदवारी दर्ता गरेपछि दुई जनाले आफूलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका छन् । काँग्रेसका महामन्त्री गगन थापा र काँग्रेस नेता एवं पूर्वमहामन्त्री डा. शशांक कोइरालाले मनोनयन दर्ता गरेपछि आफूलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) यसअघि नै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचन होमिएपनि गठबन्धनको तर्फबाट कसैलाई पनि प्रधानमन्त्रीको उम्मेदवार घोषणा नगरेको भनेर आलोचना हुँदै आएको थियो ।

सरकारको नेतृत्व गर्ने गगनको इच्छा

कांग्रेसमा महामन्त्री थापाले आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने आकांक्षा व्यक्त गरेका हुन् । काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गरेपछि सांसदको रूपमा आफ्नो विकास निर्माणका जिम्मेवारी सम्हालेको दावी पनि गरेका छन् ।

गत असार ४ गते शनिबार राति प्रशारण भएको कान्तिपुर टेलिभिजनमा प्रस्तोता सुरज सिंह ठकुरीले संचालन गर्ने ‘इट्स माई सो’ कार्यक्रममा अन्तर्वार्ताको क्रममा अब आफ्नो पुस्ताका नेताहरु प्रधानमन्त्रीको लागि तयार योग्य रहेको र त्यसैको तयारीमा आफूहरु रहेको बताएका थिए ।

तपाइँ अहिले प्रधानमन्त्रीको लागि योग्य हुनुहुन्छ ? भन्ने पत्रकार ठकुरीको प्रश्नको जवाफ दिंदै सांसद थापाले पूर्वप्रधानमन्त्रीहरुले अब पुनः प्रधानमन्त्री नभइ नयाँलाई पालो दिनुपर्ने उनको जोड रहेको थियो । पूर्वप्रधानमन्त्रीहरुले राजनीतिमा धेरै ठूलो योगदान दिए पनि अब भने नयाँ पुस्ताको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने थापाको जिकिर रहेको थियो ।

यसअघि थापाले काँग्रेस संसदीय दलको नेता चुनिएर मात्रै प्रधानमन्त्री बन्ने प्रावधान भएकोले संसदीय दलको नेता चुन्नका लागि हुने निर्वाचनमा उम्मेदवारी दिने बताएका थिए । थापाले आफू र आफ्नो पुस्ताले अबको निर्वाचनपछि प्रधानमन्त्रीको लागि हस्तक्षेप गर्ने बताएका थिए ।

डा. शेखर कोइराला पक्षबाट महामन्त्री बनेका गगन आगामी निर्वाचनमा आफू पार्टीबाट प्रधानमन्त्रीको उम्मेद्वार बन्ने रणनीति अवलम्वन गरेर सडक र सदनमा काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको आफ्नै पार्टीको सरकारको आलोचना गर्दै आएका थिए ।

बिगतमा काँग्रेस महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएर पार्टी कार्यालयमा पुगेपछि थापालाई नेता कार्यकर्ताले अविर, फूलमालाले स्वागत गर्नुका साथै अहिले ‘गगन दाइ, हाई हाई’, ‘नेपाली कांग्रेस महामन्त्री, अब देशको प्रधानमन्त्री’ भनेर नारा लगाएका थिए ।

गगनलाई प्रधानमन्त्री बन्न विश्वप्रकाशको समर्थन

काँग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले यसअघि नै गगनले प्रधानमन्त्रीमा दाबी गरे आफ्नो समर्थन रहने बताएका थिए । गत असर महिनमा अमेरिका भ्रमणमा गएका बेला काँग्रेसका महामन्त्री शर्माले अर्का महामन्त्री थापाले प्रधानमन्त्रीको दाबी गरेमा आफ्नो समर्थन रहने स्पष्ट पारेका थिए ।

काँग्रेसनिकट जनसम्पर्क समितिले अमेरिकाको क्यालिफोर्निया गरेको कार्यक्रममा बोल्दै शर्माले थापाको पक्षमा मुख खोलेका थिए । शर्माले काँग्रेसबाट सांसद, मन्त्री हुँदै महामन्त्री भइसकेकोले गगनले प्रधानमन्त्रीको दाबी गर्नु स्वाभाविक रहेको उनले बताएका थिए ।

सोही कार्यक्रममा सहभागी गोरखाका कांग्रेस जिल्ला सचिव किशोरजंग थापाले पनि महामन्त्री शर्माको बोलीलाई समर्थन गर्दै ५० वर्षमुनि उमेर समूहबाट प्रधानमन्त्रीमा गगनको दाबी स्वाभाविक रहेको बताएका थिए ।

यस्तै अर्को कार्यक्रममा गत श्रावण महिनामा कांग्रेसमा महामन्त्री शर्माले अर्का महामन्त्री थापालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न हिचकिचाउनु नपर्ने स्पष्ट पारेका थिए । गृहनगर झापाको धुलाबारीमा श्रावण १५ गते आइतबार साँझ आयोजित कार्यकर्ता भेलामा बोल्दै महामन्त्री शर्माले गगनलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव र समर्थन गर्न हिचकिचाउनु पर्ने कुनै कारण नरहेको स्पष्ट पारेका थिए ।

उनले भनेका थिए, ‘सम्भावना भएको युवा देशका लागि केही गर्छु भन्ने हिम्मतका साथ आउँछ भने उसलाई समर्थन गर्नुपर्छ, गगन हिम्मत, योग्यता र क्षमता भएका व्यक्ति हुन् ।’ ५० वर्षभन्दा कम उमेरका नेता प्रधानमन्त्री बनेको कांग्रेसको इतिहास भएकोले गगनलाई आफूले भावी प्रधानमन्त्रीका लागि समर्थन गर्नु अनौठो नभएको उनले प्रष्ट पारेका थिए ।

‘बिपी कोइराला, शेरबहादुर देउवा ५० वर्षभन्दा कम उमेरमा देशको प्रधानमन्त्री भएको काङ्ग्रेसको इतिहास छ’, महामन्त्री शर्माले भनेका थिए, ‘मैले हिम्मतका साथ गगनलाई प्रधानमन्त्रीमा समर्थन गर्छु भनेको हुँ, एमाले, माओवादीका नेताले पनि युवालाई प्रस्ताव गर्नु भयो भने मेरो नकारात्मक टिप्पणी किमार्थ हुँदैन ।’

कांग्रेसबाट अबको प्रधानमन्त्रीको उम्मेदवार म हुँ : डा. शशांक कोइराला

कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले आफूलाई भावी प्रधानमन्त्रीको उम्मेदवार भएको घोषणा गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय कावासोतीमा मनोनय दर्ता गरेपछि पत्रकारसँग कुराकानी गर्दै पूर्वी नवलपरासी क्षेत्र नम्बर १ बाट चौथोपटक उम्मेदवारी दर्ता गर्दै नेता कोइरालाले आफू प्रधानमन्त्रीको लागि चुनाव लडेको स्पष्ट पारेका हुन् ।

कोइरालाले अब यो आफ्नो लागि अन्तिम चुनाव रहेको भन्दै कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार आफू हुने दावी गरेका हुन् । कोइरालाले आफू यस पटकको निर्वाचनमा विजय भएपछि प्रधानमन्त्री बन्ने बताएका हुन् ।

कोइराला २०६४, २०७० र २०७४ तीनवटै चुनावमा सोही क्षेत्रबाट चुनाव लडेर विजयी भएका छन् भने अहिले चौथो पटक काँग्रेसबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका हुन् । यो विषय पार्टीले निर्णय गर्ने विषय भएपनि आफू योपटक प्रधानमन्त्रीका लागि उम्मेदवार बनेको बताएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु