१४ बैशाख २०८१, शुक्रबार

ज्योतिषीलाई साइत हेराएर उम्मेदवारी दर्ता गराए राजेन्द्र लिङ्देनले


राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नं. ३ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनले ज्योतिषीलाई साइत हेराएर प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेका हुन् ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नं ३ मा आज बिहान ११ बजेर ३० मिनेटको शुभ साइतमा उम्मेदवारी दर्ता गराएको जानकारी दिए ।

अध्यक्ष लिङ्देनले उम्मेदवारी दर्ताअघि देवी देवताको दर्शन गरेका थिए । उनले नजिकैको देवी देवताका मन्दिरको दर्शन गरेपछि आफन्तजनबाट सगुन र शुभकामना समेत लिएका थिए ।

उनको प्रस्तावक माधव पोखरेल रहेका छन् भने समर्थक एमालेका लक्ष्मण पाठक बसेका छन् । उक्त निर्वाचन क्षेत्रबाट सत्ता गठबन्धनले काँग्रेसका कृष्ण सिटौलालाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा लिङ्देनसँग सिटौला हारेका थिए ।

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फको मनोनयन पत्र देशभर आज दर्ता हुँदैछ । निर्वाचन आयोगले आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !