२१ बैशाख २०८१, शुक्रबार

चोलेन्द्रको सुरक्षामा खटिएका सुरक्षाकर्मी सरकारले फिर्ता बोलायो


जबराको निवासको गेटमै सरकारको तालाबन्दी

काठमाडौँ । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सुरक्षामा खटिएका सुरक्षाकर्मी सरकारले फिर्ता बोलाएको छ । सरकारको निर्देशनमा प्रहरी प्रधान कार्यालयले निलम्बित प्रधानन्यायाधीश जबराको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको हो ।

प्रहरी प्रधान कार्यालयले जबराको अगुवा गाडीसहितका सुरक्षाकर्मीहरुलाई फिर्ता गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभा अन्तर्गतको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन सिफारिस गरेपनि जबराले सोलाई अस्वीकार गर्दै आज सर्वोच्च अदालत जान खोजेपछि सरकार र जबराबीच टसल उत्पन्न भएको हो ।

प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएसँगै उनको सुरक्षामा अगुवा गाडीसहित प्रहरी नायव निरीक्षक (सई) को कमाण्डमा ९ जना सुरक्षाकर्मी खटिएका थिए । गाडीसहितका सुरक्षा अधिकारीलाई फिर्ता बोलाइएको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ ।

यता पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवास बालकोटमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश जबरालाई सरकारले निवासमै ‘नजरबन्द’ गराएको भन्दै आपत्ति जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !