१४ बैशाख २०८१, शुक्रबार

सर्वोच्च प्रशासनको सुरक्षाकर्मीलाई निर्देशन : जबरालाई अदालत प्रवेश गर्न नदिनू


चोलेन्द्रशमशेर जबरा

काठमाडौं । सर्वोच्च अदालत प्रशासनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अदालतलाई प्रवेश गर्न नदिन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ । सर्वोच्च प्रशासनले निलम्बनको फुकुवा पत्र नआउन्जेलसम्म प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेश गर्न नदिन सुरक्षाकर्मीलाई निर्देशन दिएको हो ।

जबराले भने आफूमाथि लागेको महाभियोग निष्क्रिय भइसकेकाले आजदेखि सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्किने बताएका छन् । जबराले आफूमाथि छानबिन गरिरहेको संसदको कार्यकाल हिजो रातिदेखि सकिएकोले महाअभियोग स्वत: निष्क्रिय भएकाले आफू फर्किन लागेको सर्वोच्च प्रशासनलाई हिजो शनिबार नै जानकारी गराएका थिए ।

यो समाचार पाएपछि नेपाल बार एसोसिएसनले आज बिहानै आकस्मिक बैठक बोलाए जबरालाई अदालत प्रवेश गर्न नदिने निर्णय गरेको छ। महाभियोग सिफारिस समितिले जबरालाई महाभियोग लगाउन तयार पारिएको प्रतिवेदन हिजो शनिबार सभामुख अग्निप्रसाद सापकोटालाई बुझाइएको थियो ।

समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन सिफारिस गरेको छ । जबरा अदालत आउने बताइएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !