२३ बैशाख २०८१, आइतबार

चोलेन्द्र अन्तिम बयान सकियो, ४३ वटै प्रश्नको दिए जवाफ


चोलेन्द्रशमशेर जबरा

काठमाडौँ । संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतको महाअभियोग सिफारिस समितिको आजको बैठकमा सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान सकिएको छ ।

सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा समितिको बैठकमा निलम्बित प्रधानन्यायाधीश जबराले आज ८ वटा प्रश्नको जवाफ दिएसंगै उनको अन्तिम बयान सकिएको हो ।

समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न सोध्न तयार गरेकोमा यसअघि ३५ वटा प्रश्नको बयान लिएकोले आज बाँकी ८ वटा प्रश्नमा ३६ औं प्रश्नदेखि ४३ औं प्रश्नको जवाफ दिएका हुन् ।

आफ्नो जवाफ सकिएपछि जबरा बाहिरिएका छन् भने समितिको बैठक जारी रहेको छ । समितिले पुन: उनलाई बोलाउने कि के गर्ने भन्ने विषयमा कुनै निर्णय नगरेपनि आवश्यक परेमा समितिमा फेरि बोलाउन सक्नेछ ।

जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्, सहकर्मी न्यायाधीशमाथि नै प्रश्न उठाएका थिए । बयानका क्रममा जबराले महाअभियोग प्रस्ताव स्वत: निष्क्रिय भइसकेको दावी गर्दै आफूमाथि प्रतिशोधका आधारमा महाभियोग लगाइएको जिकिर गरेका थिए ।

जबराले यसअघिको बयानमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, अन्य सहकर्मी न्यायाधीशहरु, पूर्वन्यायाधीशहरु, पत्रकार, वरिष्ठ कानुनविद्हरु, मिडिया सञ्चालकहरुलाई समेत आरोप लगाएका छन् भने एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन अर्थमन्त्री विष्णु पौडेलप्रति धन्यवाद व्यक्त गरेका थिए ।

११ सदस्यीय महाभियोग सिफारिस समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !