१४ बैशाख २०८१, शुक्रबार

दुई प्रश्न सोधेर निलम्बित प्रधानन्यायाधीशको दोस्रो दिनको बयान सकियो


चोलेन्द्रशमशेर जबरा

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतको महाभियोग सिफारिस समितिको बैठकमा आज दोस्रो दिन दुई वटा प्रश्न सोधेर आजको बयान सकिएको छ ।

आज विहान ११ बजे सिंहदरबारमा पुगेका जबरालाई लगभग २ घण्टा बयानको लागि २ वटा प्रश्न मात्र सोधिएको छ । समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार गरेपनि हिजोको बैठकमा जबरालाई ४ वटा प्रश्न सोधिएको थियो भने आज पाँचौं र छैटौं प्रश्न मात्र सोधिएको हो ।

निलम्बित प्रधानन्यायाधीश जबराले आफू दोषी नभएको तर सबैले आफूमाथि एक पक्षीयरुपमा आरोप लगाएको बयान दिएका छन् । जबराले आज पनि दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन आफूमाथि महाभियोग प्रकरण रचिएको बयान दिएका छन् ।

जबराले सबै न्यायाधीशहरू आफ्नो विरुद्धमा छन् भन्ने आरोप सयमा सय प्रतिशत गलत भएको दाबी गरे । उनले एक-दुई महिना भए पनि कार्कीलाई प्रधानन्यायाधीश बनाइदिनुस् भन्ने आग्रह गर्नेहरूलाई हुन्न भनेकाले आफूमाथि यस्तो षड्यन्त्र रचिएको जिकिर गरे ।

उनले आफूमाथि लगाइएका आरोप तथ्यहीन भएको भन्दै संविधान र नियमावली देखाउँदै महाभियोग प्रस्तावको कुनै औचित्य नभएको भन्दै समितिको प्रश्नमाथि नै प्रश्न उठाएपछि समितिमा रहेका सांसदहरू आक्रोशित भएका थिए । समिति सदस्य कल्याणी खड्काले निलम्बित प्रधानन्यायाधीश जबराको उत्तरले समितिमाथि नै प्रश्न उठाएको भन्दै विरोध गरेकी थिइन् ।

राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियोे ।

राणाविरूद्ध नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले महाअभियोग पुष्टि गर्न ३४ बुँदे पत्र समितिलाई बुझाएको थियोे । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ ।

समितिले निलम्बनमा परेका प्रधानन्यायाधीशलाई प्रश्न सोध्ने र राणाले प्रश्नको जवाफ दिने क्रम जारी रहेको छ । आजसम्म ६ वटा प्रश्न सकिएकोले अर्को बैठक भदौं १९ गते आइतबारलाई बोलाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !