१४ बैशाख २०८१, शुक्रबार

त्रिविमा नेविसंघ र अनेरास्वीयुबीच झडप, एक प्रहरीसहित दुई विद्यार्थी घाइते


त्रिविमा नेविसंघ र अनेरास्वीयुबीच झडप

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा नेपाल विद्यार्थी संघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनबीच झडप भएको छ । उक्त झडपमा परीएक प्रहरी निरीक्षकसहित दुई नेविसंघ विद्यार्थी घाइते भएको नेविसंघले जनाएको छ ।

आज आइतबार बिहान त्रिवि उपकुलपतिले पत्रकार सम्मेलनको आयोजना गर्न खोज्दा अनेरास्वीयुलाई मात्रै प्रवेश दिएको र नेविसंघलाई प्रवेश निषेध गरेपछि नेविसंघले त्यसको विरोध गर्दा अनेरास्वीयु र नेविसंघ कार्यकर्ताबीच झडप भएको बताइएको छ ।

त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालय परिसरमा शान्ति सुरक्षा गर्ने भरपर्दो सुरक्षाकर्मीको व्यवस्था गरिदिन गृह मन्त्रालयलाई आग्रह गरेको थियो । हिजो शनिबार एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयललाई नै बन्धक बनाउने गरी तालाबन्दी गर्ने समूहको खोजी गरी त्यस्ता व्यक्तिहरूलाई आवश्यक कारबाही गरी त्रिवि केन्द्रीय कार्यालय परिसरमा शान्ति सुरक्षा गर्ने भरपर्दो सुरक्षाकर्मीको व्यवस्था गरिदिन गृह मन्त्रालयलाई आग्रह गरेको हो ।

केन्द्रीय कार्यालयको मुख्य प्रशासनिक भवनमा गरिएको तालाबन्दी र काम गर्न गरिएको अवरोधको कारणले विश्वविद्यालयका दैनिक कामकारबाही रोकिएको त्रिविले विज्ञप्तिमा उल्लेख गरेको थियो । नेविसंघले प्रश्न पत्र दोहोरिएको, समयमै परीक्षा नलिएको र परीक्षाफल समेत समयमै प्रकाशन नगरेको भन्दै त्रिवि रजिष्टार कार्यालयदेखि विभिन्न ठाउँमा तालाबन्दी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !