२२ बैशाख २०८१, शनिबार

देशभर आजदेखि मतदाता नामावली अद्यावधिक सुरु


मतदाता

काठमाडौँ । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली अद्यावधिक सुरु गर्ने भएको छ । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आजदेखि मतदाता नामावली अद्यावधि कार्यक्रम सुरु हुने भएको हो ।

आज अर्थात् भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ । नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन एवं कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा नाम कायम राख्न भदौ १३ देखि १५ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

मृत्यु भएका एवं नागरिकता त्याग गरेका मतदाताको नाम सूचीबाट हटाउनका लागि यही भदौ १३ देखि १६ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिनेछ । यसअघिको निर्वाचनमा मृत्यु भएका तथा विदेशमा भएका व्यक्तिको नाम मतदाता सूचीमा रहेको भन्दै आयोगको आलोचना भएको थियो ।

आउँदो मंसिर ३ गतेभित्र १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ । त्यसका लागि मतदाता सूचीमा नाम दर्ता भएको हुनुपर्नेछ । आउँदो मंसिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदै छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !