१४ बैशाख २०८१, शुक्रबार

सिट बाँडफाँटबारे छलफल गर्न कार्यदलको बैठक आज पनि बस्दै


कार्यदलको बैठक

काठमाडौं । सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक आज पनि बस्दै छ । गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बैठक आज साँझ ५ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा पनि बस्ने भएको हो ।

हिजो मंगलबार बसेको बैठक बिनानिष्कर्ष टुंगिएको थियो । सोमबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएको थियो । कार्यदलका एक सदस्यका अनुसार भोलि ९ गतेभित्र कार्यदलले मापदण्डको टुंगो लगाउने भएको छ ।

हिजोको बैठकमा शारीरिक अस्वस्थताका कारण कार्यदल संयोजक कृष्ण सिटौला अनुपस्थित भएका थिए । गठबन्धन दलबीच आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सिट बाँडफाँट गरेर चुनाव जाने सहमति भएपनि अझै टुंगोमा लाग्न सकेको छैन ।

विभिन्न मोडालिटीमा छलफल जारी राखेको कार्यदल २०७४ को चुनावको प्रत्यक्ष, समानुपातिक तथा गएको स्थानीय निर्वाचनको नतिजाको आधार र पार्टीको पकड क्षेत्रका आधारमा मापदण्ड तयार पार्ने कसरतमा छ ।

नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलमा कांग्रेसबाट सिटौलासहित महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की सदस्य रहेका छन् भने नेकपा (माओवादी केन्द्र) को तर्फबाट देवप्रसाद गुरुङ र वर्षमान पुन सदस्य रहेका छन् ।

यस्तै नेकपा (एकीकृत समाजवादी) को तर्फबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल सदस्य रहेका छन् भने जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट रामसहाय यादव, रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !