२४ बैशाख २०८१, सोमबार

माओवादी केन्द्रको बहुप्रतिक्षित स्थायी कमिटी बैठक किन अचानक स्थगित गरियो ?


माओवादी स्थायी कमिटी बैठक

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को बहुप्रतिक्षित स्थायी कमिटी बैठक अचानक स्थगित गरिएको छ । माओवादी केन्द्रको आज बिहीबार बिहान ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भनिएको स्थायी कमिटी बैठक अपराह्न ४ बजेका लागि सारिएको हो ।

माओवादी केन्द्रको स्थायी कमिटीको पूर्वनिर्धारित बैठक किन अचानक सर्यो ? भने अहिले पार्टी वृत्तमा चासो बढेको छ । प्रचण्डको सचिवालयका अनुसार समय अभाव र स्थायी कमिटीका बाँकी सदस्य चयनमा थप गृहकार्य गर्नुपर्ने भएकोले बैठक अपराह्नको लागि सारिएको जनाएको छ ।

यद्यपि यो भनिएपछि कारण अर्कै हुनसक्ने आंकलन गर्न सकिन्छ । महासचिवमा बर्षमान पुन र जनार्दन शर्माले जोडदार दावी कायमै राखेकोले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पदाधिकारी छान्न सकस देखिएको छ ।

यसअघि प्रचण्डले शर्मा र पुनमध्ये एक जनालाई महासचिव बनाउने आश्वाशन दिंदै आएका थिए । प्रचण्डले पुन र शर्माले एकअर्कालाई रोक्न महासचिव हुन नसकेको अवस्थामा अरू नेतालाई अघि सारिरहेका छन् ।

पुन र शर्मामध्ये जुनसुकै एक जनालाई महासचिव बनाउँदा आफ्नो सम्वन्ध बिग्रिने डरले प्रचण्डको नजर अहिले देव गुरुङतिर सोझिएको छ । हिजो अवको महासचिव गुरुङ बन्ने प्रवल सम्भावना रहेको भन्ने जस्ता समाचार बाँहिरिएका थिए ।

यस्ता समाचार बाँहिरिएसंगै पुन र शर्माको मनमा हलचल सिर्जना भएर उनीहरु प्रचण्डसँग रिसाएकोले उनीहरुलाई फकाउन आज बिहान ९ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक अपराह्न ४ बजे सम्मका लागि सारिएको हुनसक्ने माओवादी नेताहरु बताउँछन् ।

आजको बैठकमा पदाधिकारी लगायतका कमिटीलाई पूर्णता दिने विषयमा छलफल हुने एजेण्डा रहेको छ । हिजो बुधबार बसेको बैठकमा पनि केन्द्रीय कमिटी सदस्य, पोलिटव्यूरो, स्थायी कमिटी, पदाधिकारी चयनको विषयमा छलफल भएको थियो ।

हिजोको बैठकले आज नाम प्रस्ताव गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ । गत पुस १८ मा सम्पन्न भएको महाधिवेशनले २३६ जना केन्द्रीय सदस्यको नाम अनुमोदन गरेको थियो ।

हिजोको बैठकमा अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल गरेको पार्टी प्रवक्ता महराले जानकारी दिए । महराका अनुसार आज बस्ने बैठकले पार्टीमा पदाधीकारी पनि टुंगो लगाउने तयारी गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !