२४ बैशाख २०८१, सोमबार

माओवादी केन्द्रले भाेलिसम्म पार्टी कमिटीहरूलाई पूर्णता दिने


नेकपा माओवादी केन्द्र

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले भोलि पार्टी कमिटीहरूलाई पूर्णता दिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भाेलि बिहीबारसम्म पार्टी कमिटीहरूलाई पूर्णता दिने बताएका हुन् ।

आज वुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकलाई सम्वोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले पार्टीको पदाधिकारी अव ढिलाई नगरी टुंगो लगाउने बताएका हुन् ।

प्रचण्डले भोलि पून: स्थायी समिति बैठक राखेर त्यसैमा आफुले पदाधिकारीको प्रस्ताव ल्याउने बताएका हुन् । उनले बैठकमा सबैसँग सल्लाह गरेर भोलि पदाधिकारी प्रस्ताव ल्याउने बताएका हुन् ।

गत पुस महिनामा माओवादीको महाधिवेशन सम्पन्न भएपनि अहिलेसम्म पदाधिकारी चयन गर्न नसकेको भनेर अध्यक्ष प्रचण्डको आलोचना हुँदै आएको छ । महासचिवमा बर्षमान पुन र जनार्दन शर्माले जोडदार दावी कायमै राखेकोले प्रचण्डलाई पदाधिकारी छान्न सकस देखिएको हो ।

माओवादीमा १७ जनादेखि २१ जनासम्मको पदाधिकारी बनाउने विषयमा छलफल जारी रहेको एक नेताले बताए । आजको स्थायी समिति बैठकमा पोलिटब्यूरो, स्थायी समिति र पदाधिारी चयन सम्वन्धी संगठनात्मक प्रस्तावमा केन्द्रित रहेर छलफल भएको थियो ।

आजको बैठकले अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल गरेको पार्टी प्रवक्ता महराले जानकारी दिए । महराका अनुसार बिहीबार बस्ने बैठकले पार्टीमा पदाधीकारी पनि टुंगो लगाउने तयारी गरेको छ ।

प्रवक्ता महराका अनुसार बैठक बिहीबार बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । माओवादीमा अध्यक्षबाहेक अन्य पदाधीकारी चयन हुन सकेको छैन । अन्य कमिटीहरुले पनि पूर्णता पाउन सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !