१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रपतिद्वारा पुनर्विचार गर्न भन्दै नागरिकता विधेयक संसदमै फिर्ता


विद्यादेवी भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् । आज आइतबार साँझ नागरिकता विधयेकमा संसद्ले पुनर्विचार गर्न आवश्यक भएको भन्दै राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज साँझ एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा पुनर्विचार हुन आवश्यक देखिएकाले उक्त विधेयक फिर्ता गरिएको जानकारी दिएका छन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकाले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देशसहित यो विधेयक सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ ।’

संविधानको धारा ११३ को उपधारा (३) मा प्रमाणीकरणका लागि पेस भएको अर्थ विधेयकबाहेक अन्य विधेयकमा पुनर्विचार हुन आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा त्यस्तो विधेयक पेस भएको १५ दिनभित्र सन्देशसहित सदनमा फिर्ता पठाउन सक्ने व्यवस्था छ ।

संवैधानिक व्यवस्था अनुसार अब नागरिकता विधेयकमाथि दुवै सदनले पुनर्विचार (संशोधन) गरेर वा नगरेर फेरि पेस गरेमा राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने हुन्छ । नागरिकता विधेयक गत साउन ६ गते प्रतिनिधिसभाबाट र साउन १२ गते राष्ट्रियसभाबाट पारित भएर साउन १५ गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो ।

प्रतिनिधिसभा र राष्ट्रियसभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुका सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको थियो ।

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँगकाे भेटमा पनि राष्ट्रपति भण्डारीले नागरिकता विधेयकको सम्बन्धमा असन्तुष्टि प्रकट गरेकी थिइन् । विधेयकमा समेटिएका केही बुँदाहरुमा राष्ट्रपतिले गम्भीर चासो र चिन्ता व्यक्त गरेकी थिइन् । हिजो शनिबार नै महान्यायाधिवक्ता खम्मबहादुर खातीसँगको भेटमा पनि नागरिकता विधेयकका सम्बन्धमा सोधपुछ गरेकी थिइन् ।

राष्ट्रपतिद्वारा पुनर्विचार गर्न भन्दै नागरिकता विधेयक संसदमै फिर्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !