१४ बैशाख २०८१, शुक्रबार

शुक्रबारदेखि निलम्बित प्रधानन्यायाधीश जबरामाथि अध्ययन सुरु हुने


चोलेन्द्रशमशेर जबरा

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि भोलि शुक्रबारदेखि अध्ययन सुरु हुने भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले जबरामाथिको महाअभियोग प्रस्ताव अध्ययनका लागि महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।

आइतबार उक्त प्रस्तावमाथि छलफल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव संसदले बहुमतले पास गरेको थियो । प्रधानन्यायाधीश जबराविरुद्ध १ फागुनमा महाअभियोग दर्ता भएको थियो ।

११ सदस्यीय महाभियोग सिफारिस समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य छन् ।

२०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङ्गले नेपालको संविधान बमोजिम प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाभियोगको प्रस्ताव दर्ता भएको थियो । संसदमा महाभियोग दर्ता भएसँगै फागुन २२ गतेको प्रतिनिधि सभा बैठकले ‘महाभियोग सिफारिस समिति’ गठन गरेको थियो ।

अविश्वासको प्रस्ताव दर्ता भए पनि त्यसमाथि कारबाही हुन नसक्दा यसको सर्वत्र आलोचना भइरहेको थियो । अब महाअभियोगबारे ११ सदस्यीय सिफारिस समितिले अध्ययन गरेर आवश्यक सुझाव प्रतिनिधिसभासमक्ष पेस गर्ने भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !