२३ बैशाख २०८१, आइतबार

बालुवाटारमा सत्ता गठबन्धनको कार्यदल बैठक जारी


कार्यदल बैठक

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको कार्यदल बैठक जारी रहेको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँटको खाका तयार गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक जारी रहेको हो ।

गत साउन २० गते बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले आसन्न निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा कांग्रेसबाट ३ जना र अन्य दलबाट २/२ जनाको प्रतिनिधित्व रहेको छ ।

गठबन्धनले साउनभित्रमा सिट बाँडफाँटको खाका तयार गर्न गठन गरेको कार्यदलले दिएको सुझावअनुसार गठबन्धनका शीर्षनेताहरुले सिट बाँडफाँटको टुंगो लगाउनेछन् ।

कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट वर्षमान पुन र जर्नादन शर्मा रहेका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

सरकारले आगामी ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकेको थियो । सत्ता गठबन्धनका दलहरुबीच आगामी निर्वाचनमा तालमेल गरेर जाने निर्णय भइसकेको छ । प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० सिट छन् । गठबन्धनभित्र अब सिट बाँडफाँटका विषयले अब स्थान पाउनेछन् ।

आजै बिहान प्रमुख सत्तारुढ दल कांग्रेस शीर्ष नेताहरुको बैठक बसेको थियो । काँग्रेसले एकल बहुमत ल्याउने गरी गठबन्धन बैठकमा सिट बाँडफाँडको प्रस्ताव लैजाने निर्णय गरेको थियो । उक्त प्रस्ताव स्थानीय तह निर्वाचनको परिणामलाई मुख्य आधार मानेर बनाउने निर्णय गरिएको हो ।

सरकारले आगामी ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तय गरिसकेको छ । प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० सिट छन् । गठबन्धनभित्र अब सिट बाँडफाँटका विषयले अब स्थान पाउनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !