१३ बैशाख २०८१, बिहिबार

आगामी निर्वाचनसम्म संसद कायमै रहने सञ्चारमन्त्री कार्कीको भनाई


ज्ञानेन्द्र बहादुर कार्की फाइल फोटो

काठमाडौँ । सरकारले आगामी मंसिर ४ गते निर्वाचन गर्ने निर्णय गरेको छ । आज दिउँसो सिंहदरबारमा बसेको नियमित मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् ।

यस्तै मन्त्री कार्कीले आगामी निर्वाचनसम्म संसद कायमै रहने बताएका छन् । आज दिउँसो सिंहदरबारमा बसेको नियमित मन्त्रिपरिषद्को बैठक सकिएपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले निर्वाचनसम्म संसद कायमै रहने स्पष्ट पारेका हुन् ।

पाँच दलीय सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरू बुधबार मंसिर ४ गते निर्वाचन गर्न सहमत भएका थिए । आज मन्त्रिपरिषद्को बैठक बस्नुअघि बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको थियो ।

यसअघि निर्वाचन आयोगले सरकारलाई आगामी मंसिर २ गते एकै चरणमा निर्वाचन गर्ने गरी मिति तोक्न सरकारलाई परामर्श दिएको थियो । आयोगले मंसिर २ गते निर्वाचन गर्न प्रस्ताव गरेतापनि मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते निर्वाचन गर्ने गर्ने निर्णय गरेको हो ।

यद्यपि सरकारले निर्वाचन मिति घोषणा गरेसँगै संसद भने विघटन गरेको छैन । संसद विघटन गर्ने प्रावधान संविधानमा नरहेको कारण चुनावको मिति घोषणा गर्दा पनि सरकारले संसद भने चुनावसम्मै राख्ने गरी संसद विघटनको घोषणा नगरेको मन्त्री कार्कीले बताएका हुन् ।

अब चुनावका उम्मेदवारहरुको उम्मेदवार मनोनयनका दिनसम्मै अहिलेको संसद भने कायमै रहने गरी सरकारले चुनावको मिति घोषणा गरेको हो । तर संसदको कार्यकाल चुनावसम्मै राख्ने वा चुनावको मिति घोषणा गर्ने विषयमा सत्ता गठबन्धनका नेताहरुले भने विपक्षी दलका नेताहरुसँग परामर्श भने गरेनन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने मंसिरमा चुनाव जसरी पनि गर्नुपर्ने र सरकार उक्त मितिमा चुनाव नगराउने खेलमा लागेको भनेर आरोप लगाँउदैं आएकोले पनि सरकारले प्रतिपक्षी दलसँग चुनावको मिति घोषणा गर्ने बारेमा औपचारिक छलफल आवश्यक नठानेको सरकारका मन्त्रीको भनाई रहेको छ ।

यो पनि पढ्नुहोस्

मंसिर ४ गते निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय

मंसिर ४ गते निर्वाचन गर्ने सत्ता गठबन्धनका दल सहमत


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !