१४ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभाको बैठकबाट तीन विधेयक स्वीकृत


प्रतिनिधिसभाको बैठक

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले विभिन्न तीन विधेयकलाई सर्वसम्मतीले स्वीकृत गरेको छ । बैठकले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘शपथ सम्बन्धी विधेयक, २०७९’, ‘स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८’ र ‘प्रत्यायन विधेयक, २०७८’ लाई स्वीकृत गरेको हो ।

बैठकमा उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले ती तिनवटै विधेयकहरु माथि विचार गरियोस् भनी छुट्टाछुट्टै प्रस्तावहरु प्रस्तुत गरेका थिए । ती प्रस्तावहरु माथि बैठकमा सैद्धान्तिक छलफल भई छलफल उठेका प्रश्नहरुको आपूर्तिमन्त्री बडूले जवाफ समेत दिएका थिए ।

मन्त्री बडूले ‘शपथ सम्बन्धी विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावलाई सभामुख सापकोटाले निणर्यार्थ प्रस्तुत गर्न लाग्दा बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले गणपूरक संख्या नपुगेको भन्दै नियमापत्ति गरेका थिए । पछि गणना गर्दा कम्तिमा पनि ६९ जना हुनुपर्नेमा ९२ जना सांसदहरुको उपस्थिति रहेको पाइएको थियो ।

सभामुख सापकोटाले ‘स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८’लाई निणर्यार्थ प्रस्तुत गर्न लाग्दा बैठकमा नेकपा(एमाले)का सांसद घनश्याम खतिवडाले गणपूरक संख्या नपुगेको भन्दै नियमापत्ति गरेका थिए । पछि गणना गर्दा कम्तिमा ६९ जना हुनु पर्नेमा ७१ जना देखिएको थियो ।

बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले प्रतिनिधि सभामा उत्पत्ति भएको ‘खानेपानी तथा सरसफाई विधेयक, २०७७’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहित विधेयक टेबुल गरेका थिए ।

प्रतिनिधि सभाको आजको बैठकको शुरुमा सांसदहरुले शुन्य तथा विशेष समयमा बोल्दै समसामयिक विषयमा सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएका थिए । प्रतिनिधि सभाको अर्को बैठक यही साउन २२ गते बिहान ११ बजेका लागि डाकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !