२१ बैशाख २०८१, शुक्रबार

विश्वप्रकाशको स्पष्टोक्ति : गगनलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न हिचकिचाउनु पर्दैन


विश्वप्रकाश शर्मा फाइल फोटो

झापा । नेपाली कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न हिचकिचाउनु नपर्ने स्पष्ट पारेका छन् ।

गृहनगर झापाको धुलाबारीमा हिजो आइतबार साँझ आयोजित कार्यकर्ता भेलामा बोल्दै महामन्त्री शर्माले गगनलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव र समर्थन गर्न हिचकिचाउनु पर्ने कुनै कारण नरहेको स्पष्ट पारेका हुन् ।

उनले भने, ‘सम्भावना भएको युवा देशका लागि केही गर्छु भन्ने हिम्मतका साथ आउँछ भने उसलाई समर्थन गर्नुपर्छ, गगन हिम्मत, योग्यता र क्षमता भएका व्यक्ति हुन् ।’

५० वर्षभन्दा कम उमेरका नेता प्रधानमन्त्री बनेको कांग्रेसको इतिहास छ। गगनलाई आफूले भावी प्रधानमन्त्रीका लागि समर्थन गर्नु अनौठो नभएको उनले प्रष्ट पारे ।

‘बिपी कोइराला, शेरबहादुर देउवा ५० वर्षभन्दा कम उमेरमा देशको प्रधानमन्त्री भएको काङ्ग्रेसको इतिहास छ’, महामन्त्री शर्माले भने, ‘मैले हिम्मतका साथ गगनलाई प्रधानमन्त्रीमा समर्थन गर्छु भनेको हुँ, एमाले, माओवादीका नेताले पनि युवालाई प्रस्ताव गर्नु भयो भने मेरो नकारात्मक टिप्पणी किमार्थ हुँदैन ।’

कांग्रेसमा गगन मात्र होइन थुप्रै नेता प्रधानमन्त्रीका लागि योग्य र सक्षम भएको उनले बताए । ‘कांग्रेसमा मधेसबाट विमलेन्द्र निधि, आदिवासी जनजातिबाट प्रकाशमान सिंह, निडर नेता पार्टी उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री बालकृष्ण खाँण सबै प्रधानमन्त्रीका लागि योग्य हुनुहुन्छ’, महामन्त्री शर्माले भने, ‘सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले म पाँच पटक भएँ तपाईँ पहिलो पटक प्रधानमन्त्री हुनुस् भनेर नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दा कसैको विमति हुँदैन।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !