९ जेष्ठ २०८१, बुधबार

एमाले र माओवादीले एम अधिकारी र सिसिटिभी फुटेज साटफेर गरे : रवि लामिछाने


रवि लामिछाने फाइल फोटो

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले एम अधिकारी र सिसिटिभी फुटेज सटासाट गरेको टिप्पणी गरेका छन् ।

आज शनिबार धनगढीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले पूर्वअर्थमन्त्री जनार्दन शर्माको कमजोरी ढाकछोप गर्न एमालेको समेत मिलेमतो रहेको आरोप लगाएका हुन् ।

एमालेले अर्थ मन्त्रालयको सिसिटिभी फुटेजसँग एम अधिकारी साटफेर गरेको उल्लेख गर्दै भने, ‘देशमा सत्ता पक्ष र प्रतिपक्ष छन् भनिन्छ, तर मैले प्रतिपक्ष देखिन खोइ कहाँ छ ?’

लामिछानेले अर्थ मन्त्रालयको डिलिट भयो भनिएको सिसिटिभी फुटेज एक घण्टामै रिकभर हुने दाबी गरेका छन् । लामिछानेले भने, ‘म चुनौतीका साथ भन्छु मलाई एक घण्टाका लागि मन्त्रालयको सीसीटीभीको हार्ड डिस्क दिनुस् । रिकभर गरेर सर्वसाधारणलाई देखाउन नसके हेर्नुहोला ।’

देशमै रोजगारीको सिर्जना गर्न उद्देश्यका साथै आफूहरु आएको उनले दाबी गरे । देशको सबै भन्दा ठुलो समस्या भनेको भ्रष्ट्राचार रहेकाले भ्रष्ट्राचारलाई समाप्त गर्न आवश्यक रहेको उनको भनाइ छ ।

एमालेको अर्थ तथा योजना विभागको सदस्यमा रहेका एम अधिकारी राष्ट्र बैंकका गभर्नर रहेको भन्दै कांग्रेस र माओवादीले उनको राजीनामा मागेका थिए। तर अहिले यो विषय पनि सेलाएको छ ।

लामिछानेले विश्वले सूचना प्रविधिमा फड्को मारिरहेका बेला सरकारले सीसीटीभी फुटेज रिकभर हुँदैन भनेर नागरिकमाथि भद्दा मजाक गरिरहेको टिप्पणी गर्दै अब जनतालाई जे भनेपनि हुन्छ भन्ने मानसिकता अन्त्य गर्न युवाहरु जाग्नुपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !