२४ बैशाख २०८१, सोमबार

‘बाढीपहिराका कारण सडक डुबानमा परेकाले चाँडो खुलाउन लाग्नुपर्छ’


राष्ट्रियसभाको बैठक

काठमाडौँ । सांसदहरुले वर्षाका कारण सडक बाढीपहिराका कारण अवरुद्ध भएकाले चाँडो खुलाउन सरकार गम्भीर हुनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आज बसेको बैठकमा बोल्दै उनीहरुले वर्षाले नागरिकको जनजीवनमा असर पुगेको औँल्याएका हुन् ।

सांसद् सिंहबहादुर विश्वकर्माले केही दिनयताको झरीले राजमार्गका विभिन्न स्थानमा पहिरो र सडक भाँसिएकाले सवारीसाधन ओहोरदोहोर गर्न अप्ठेरो भएको र सडक दुर्घटना भइरहेकाले सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए ।

सांसद नन्दा चपाईंले कर्णाली प्रदेशमा कतै बाढीपहिरो र कतै डुबानको समस्या रहेको जनाउँदै तल्लो तटीय क्षेत्रमा डुबानको जोखिम रहेकाले बस्तुगत अध्ययन गरी समस्या समाधान गर्नुपर्ने बताए । सांसद अनिता देवकोटाले भारतीय कम्पनीले निर्माण गरेको घोराही–तुलसीपुर सडक सम्पन्न नहुँदा नागरिकले सास्ती भोगेको बताइन् ।

सांसद खिमलाल देवकोटाले पोखरा महानगरपालिकाका निवर्तमान प्रमुखले फेवातालको मापदण्ड ६५ मिटरबाट ३५ मिटर बनाएको जनाउँदै पोखरामा बिना स्वीकृति आठ-नौँ तलाका घर बनेकाले त्यो रोकिनुपर्नेमा जोड दिए । सांसद दिलकुमारी रावलले सरकारले स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) मा सहभागी नहुने सरकारको निर्णय भए पनि सेना प्रमुख सहभागी हुनुको कारण सोधिन् ।

सांसद् प्रकाश पन्थले शिक्षाको गुणस्तर खस्केको भन्दै राम्रो ग्रेड ल्याउनेलाई प्रमाणपत्र दिने र राम्रो ग्रेड ल्याउन नसक्ने विद्यार्थीका बारेमा पनि सोच्नुपर्नेमा जोड दिए । सांसद् महेशकुमार महराले राहदानी विभागमा सेवा लिन आएका नागरिकले सजिलो सेवा नपाएको र काम गराउन थप पैसा तिर्नुपरेको बताएकाले त्यो रकम कसले लिन्छ भनी बुझ्नुपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !