२० बैशाख २०८१, बिहिबार

नागरिकता विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित


प्रतिनिधिसभाको बैठक

काठमाडौं । नागरिकता विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । लामो रस्साकस्सीपछि फास्ट ट्रयाकबाट शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले बहुप्रतिक्षित नागरिकता विधेयक आज प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको हो ।

प्रतिनिधिसभाको आजको बैठकले बहुप्रतीक्षित नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ पारित गरेको छ । बैठकमा सो विधेयकबारे दफाबार छलफलमा सांसदहरूले राखेको जिज्ञासामा गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो । मन्त्री खाणले प्रस्तुत गर्नुभएको प्रस्ताव बहुमतले पारित भएको हो ।

विधेयकमा भएको प्रावधानबारे वैवाहिक अङ्गीकृत नागरिकता पाउनका लागि सात वर्ष समयसीमा तोक्ने र नेपालीसँग विवाह गर्ने विदेशी पुरुषले नागरिकता लिन चाहेमा व्यवस्था हुनुपर्ने भन्ने सम्बन्धमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूका तर्फबाट प्रस्तुत संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको थियो ।

विधेयकमा ९४ विषयमा ४५ जना सांसदले संशोधन प्रस्ताव पेस गरेका थिए । वैवारिक अङ्गीकृत नागरिकताका लागि सात वर्ष समयसीमा तोक्नेबारेमा विगतमा प्रतिनिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सहमति भएको थियो ।

उक्त विधेयकमा जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई नागरिकता दिने प्रावधान राखिएको छ । विधेयकमा एनआरएनएलाई राजनीतिक अधिकारबाहेकका अन्य अधिकार दिनेगरी नागरिकता दिने प्रावधान राखिएको छ ।

उनीहरूलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता उपलब्ध गराउने प्रावधान राखिएको छ । प्रतिनिधिसभाको अर्काे बैठक यही साउन ८ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !