५ जेष्ठ २०८१, शनिबार

नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिनुपर्नेमा खगराजको अडान


खगराज अधिकारी फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद खगराज अधिकारीले नेपालीसँग विवाह गरेकी विदेशी महिलाले ७ वर्षपछि मात्र नागरिकता दिने प्रावधान राख्नुपर्ने अडान दोहोर्‍याएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै पूर्वगृहमन्त्री समेत रहेका सांसद अधिकारीले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने अडान दोहोर्‍याएका हुन् ।

सांसद अधिकारीले नागरिकताजस्तो संवेदनशील विषयलाई ख्याल ठट्टा नगर्न आग्रह गरेका छन् । उनले सहमतिका साथ नागरिकता विधेयक पास गर्नुपर्नेमा जोड दिएका हुन् । अधिकारीले नागरिकतासम्बन्धी विश्वका अन्य मुलुकको अनुभवका आधारमा निर्णयमा पुग्नुपर्ने बताए ।

सोही पार्टीका गङ्गा चौधरी (सत्गौवा) ले सार्कका अन्य मुलुकका अभ्यासलाई हेरेर नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गर्नेबित्तिकै नभई विवाहको सात वर्षपछि मात्रै विदेशीलाई अङ्गीकृत नागरिकता दिने व्यवस्था गर्न माग गरिन् ।

बैठकमा संशोधनकर्ता दुर्गा पौडेल, घनश्याम खतिवडा, अञ्जना विसङ्खे, नरबहादुर धामी, डा सूर्यप्रसाद पाठक, गोकुलप्रसाद बास्कोटालगायतले छलफलमा भाग लिएका थिए । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले दफाबार छलफलका लागि प्रस्तुत गर्नुभएको प्रस्ताव पारित भएपछि संशोधनकर्ता सांसदले आफ्नो धारणा राख्नेक्रम जारी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !