१४ बैशाख २०८१, शुक्रबार

दुई पटक मन्त्री भइसकेका गिरीसहित चार नेताले छाडे राप्रपा


दिलनाथ गिरी

काठमाडौं । दुई पटक मन्त्री भइसकेका दिलनाथ गिरीसहित चार नेताले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका छन् । विगतमा गिरी राप्रपाबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र शहरी विकास मन्त्री भएका थिए ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाका नेताहरु दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले पार्टी परित्याग गरेका हुन् ।

पार्टीभित्र अपमानित र अपहेलित भएर बस्नु भन्दा पार्टी छोडनु हितकर हुने ठानी पार्टी परित्याग गरिएको राप्रपाका यी चार नेताले जनाएका छन् । उनीहरुलाई केही समय अघि मात्र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले स्पष्टीकरण सोधेको थियो ।

उनीहरुले राप्रपाभित्र आन्तरिक प्रजातन्त्र नरहेको, सर्वसत्तावाद र अहंकार मौलाएको, विधि र विधानको धज्जी उडिरहेको भन्दै उनीहरुले अपमानित भएर पार्टीमा बस्न नसकेको स्पष्ट बताएका छन् । उनीहरुले देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता रहेकोले यो अभियानमा आफूहरू निरन्तर क्रियाशील रहने बताएका छन् ।

दिलनाथ गिरी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !