२१ बैशाख २०८१, शुक्रबार

देउवा सरकार नालायक सावित भयो : वरिष्ठ उपाध्यक्ष पोखरेल


ईश्वर पोखरेल

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धन सरकार नालायक सावित भएको टिप्पणी गरेका छन् ।

प्रेस चौतारी नेपाल प्रदेश नं १ कमिटीद्वारा आज विराटनगर आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष पोखरेलले देउवा सरकार नालायक र गैरजिम्मेवार बनेको आरोप लगाएका हुन् ।

उनले आर्थिक विकास, समृद्धि, सामाजिक सद्भाव कायम राख्ने र देश बनाउने सपना जागृत गराउने सवालमा सरकार जिम्मेवार नबनेको आरोप पनि लगाए । उनले सरकार मूल्यवृद्धितर्फ केन्द्रित भएको पनि बताए ।

कसैले चाहँदैमा र सपना देख्दैमा एमालेलाई एक्ल्याउन नसक्ने उनले जिकिर गरे । स्पष्ट विचार बोकेर जनतामा आधारित हुँदै सङ्गठनको बलमा अगाडि बढेको पार्टी भएकाले एमालेलाई एक्ल्याउन सम्भव नहुने उनको दाबी छ ।

आगामी सङ्घ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टीले श्रेष्ठता हासिल गर्न दाबी गर्दै निर्वाचनमा एमाले एक्लै जान तयार रहेको बताए । उनले भने, “निर्वाचनमा स्थानीय आवश्यकतानुसार तालमेल हुनसक्छ ।”

उनले संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको बताएका छन् । नेपालको संविधान राष्ट्रिय सहमतिका आधारमा जारी भएको हो भने । वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “संविधान अपरिवर्तनीय होइन, आवश्यकता परेमा समयसापेक्ष संशोधन गर्न सकिन्छ ।”

वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रदेश नं १ को नामकरण प्रदेशसभाको एकल अधिकारको विषय भएको चर्चा गर्दै यसका लागि साझा सहमतिका आधारमा सबैलाई स्वीकार्य हुनुपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !