२३ बैशाख २०८१, आइतबार

काँग्रेस महामन्त्रीद्वयसंग देउवाको गुनासो : फोन उठाउने गर्नुस्, मलाई नखेद्नुस्


गगनकुमार थापा, शेरबहादुर देउवा र विश्वप्रकाश शर्मा

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासंग फोन गर्दा फोन नउठाएको र आफूलाई खेद्ने गरेकोमा गुनासो गरेका छन् ।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा आज शनिबार बोल्दै सभापति देउवाले पार्टीका पदाधिकारीहरूको फोन नउठ्ने गरेको भन्दै गुनासो पनि गरेका हुन् ।

उनले पार्टीभित्र एकलौटी गरेको भन्ने आरोपको उनले बचाउ गर्ने प्रयत्न गरेका थिए । उनले आफूले पार्टीलाई एकताबद्ध बनाउने प्रयास गरिरहेको भन्दै आफूलाई नखेद्न केन्द्रीय समितिका पदाधिकारी र सदस्यलाई आग्रह गरेका हुन् ।

देउवाले आफूले पार्टीमा सबैलाई मिलाएर लैजाने र पार्टीलाई बलियो बनाएरै छाड्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनले कांग्रेसले एक्लै निर्वाचन जित्न नसक्ने भन्दै गठबन्धन गर्नुपर्नेमा समेत जोड दिएका हुन् ।

जारी बैठकमा महामन्त्रीद्वयसहित केन्द्रीय सदस्यहरूले आफ्नो कामको आलोचना गरेपछि देउवाले आफूले सबैलाई लिएरै अघि बढ्न चाहेको बताएका हुन् । महामन्त्री थापा र शर्माले देउवा कसैसँग सल्लाह नगरी एक्लै अघि बढ्ने खोजेको र प्रधामन्त्री भएर सबै शक्ति आफैँमा केन्द्रित गरेको आरोप बैठकमा लगाएका थिए ।

महामन्त्री थापाले दलका भ्रातृ सङ्गठनमा मनोनयन गर्दा आफूहरूसँग सभापति देउवाले सल्लाह नै नगरेको आरोपसमेत लगाएका थिए । उनले अहिलेको सत्ता गठबन्धन कायमै राख्नु आवश्यक भएको पनि बैठकमा बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !