२२ बैशाख २०८१, शनिबार

एमालेले उपसभामुखको लागि सांसद विद्या भट्टराईलाई उम्मेदवार बनाउने


विद्या भट्टराई

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको उपसभामुख पदमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पनि उम्मेदवारी दिने भएको छ । एमालेले उपसभामुख पदमा सांसद विद्या भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।

प्रतिनिधिसभा सदस्य भट्टराई तत्कालीन पर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीकी पत्नी हुन् । ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री अधिकारीको निधन भएपछि रिक्त सिटमा भएको उपनिर्वाचनमा कांग्रेसका नेता खेमराज पौडेललाई भारी मत अन्तरले पराजित गर्दै उनी विजयी भएकी थिइन् ।

पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाललाई उपसभामुख पदको लागि आज उम्मेदवारी दिएकी छन् । यसअघि पनि काँग्रेसले भुसाललाई उपसभामुखको उम्मेदवार बनाएको थियो ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन भोलि असार ३१ गते शुक्रबार अपराह्न ३ बजेका लागि तोकेका छन् ।

आज असार ३० गते बिहीबार बिहान ११ देखि १ बजेसम्म प्रतिनिधिसभाको कुनै सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

भोलि असार ३१ गते शुक्रबार अपराह्न ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल हुने र दर्ता क्रमअनुसार निर्णायर्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !